काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले बढेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कुल नाफा ४९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४१ अर्ब १७ करोड रुपैयाँ थियो।
निष्क्रिय कर्जाका लागि छुट्याउनुपर्ने प्रावधान रकम घट्नुका साथै ब्याज तथा अन्य आम्दानीमा सामान्य वृद्धि हुँदा बैंकहरूको नाफा बढेको हो। दोस्रो त्रैमासको तुलनामा वित्तीय अवस्थामा सुधार देखिए पनि सबै बैंकको अवस्था समान छैन।
तेस्रो त्रैमासमा ६ वाणिज्य बैंकको नाफा चारदेखि ५५ प्रतिशतसम्म घटेको छ। प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, एनआइसी एसिया, ग्लोबल आइएमई र स्ट्याण्डर्ड चार्टर्ड बैंक नाफा घट्ने सूचीमा परेका छन्। तीमध्ये प्रभु बैंकको नाफा सबैभन्दा धेरै ५५ प्रतिशतले घटेर १ अर्ब ८७ करोडबाट ८५ करोड रुपैयाँमा सीमित भएको छ।
यसअघि दोस्रो त्रैमासमा ९ बैंकको नाफा १३ देखि ४७ प्रतिशतसम्म घटेको थियो भने एक बैंक नोक्सानीमा गएको थियो। त्यसको तुलनामा अहिले सुधार देखिएको हो।
यता, कुमारी बैंकले सबैभन्दा उच्च नाफा वृद्धि गरेको छ। बैंकको नाफा १४ गुणाले बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। नाफाको आकारका आधारमा भने नबिल बैंक अग्रस्थानमा रहेको छ, जसको नाफा ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) भने बढेको देखिएको छ। अघिल्लो वर्ष औसत ४.९८ प्रतिशत रहेको यस्तो कर्जा अनुपात बढेर ५.२५ प्रतिशत पुगेको छ। प्रभु, हिमालयन, एनआइसी एसिया, कुमारी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निष्क्रिय कर्जा ७ प्रतिशतभन्दा माथि पुगेको छ।
प्रावधान रकममा भने केही कमी आएको छ। अघिल्लो वर्ष ३४ अर्ब ८१ करोड रुपैयाँ छुट्याइएकोमा यस वर्ष ३४ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ। नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड र एभरेस्ट बैंकले अघिल्लो वर्ष छुट्याएकोमध्ये केही रकम फिर्ता ल्याएका छन्।
खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि मात्रै देखिएको छ। बैंकहरूको यस्तो आम्दानी २ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै २३ प्रतिशतले वृद्धि गर्दै ८ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। तर सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकको यस्तो आम्दानी घटेको छ।
लाभांश वितरण क्षमतामा समेत मिश्रित अवस्था देखिएको छ। २० मध्ये ५ बैंकले हालको अवस्थामा लाभांश वितरण गर्न सक्ने अवस्थामा छैनन् भने तीन बैंकले २० प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने देखिएको छ। सिद्धार्थ बैंकले भने ऋणपत्रका लागि छुट्याइएको रकम फिर्ता आएसँगै वितरणयोग्य नाफा बढेको छ, जसले करिब २१ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ।
बैंकहरूको प्रतिसेयर आम्दानी औसत १७ रुपैयाँ पुगेको छ, जुन गत वर्षको १४ रुपैयाँ ५३ पैसाको तुलनामा केही सुधार हो।









