पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निजी निवासबाट नियन्त्रणमा लिएर काठमाडौं प्रहरी परिसर लगिएको हो।

गत भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। सोही प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि प्रहरीले बिहानै भक्तपुरको कुटुन्जेबाट नियन्त्रणमा लिइसकेको छ।

तीन दिनअघि सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक तथा पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत ‘हेलचक्र्याईं गरी ज्यान मार्ने’ कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको थियो। उक्त दफाअनुसार यस्तो कसुर प्रमाणित भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ।

नवनियुक्त प्रधानमन्त्री बालेन शाह ले शपथ लिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि गृहमन्त्री सुदन गुरुङ ले घटनाको अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार, मृतक र घाइतेका परिवारले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको हो। यद्यपि, जिल्ला अदालतबाट पूर्वअनुमति नलिई ‘जरुरी पूर्जी’ का आधारमा पक्राउ गरिएको बताइएको छ।

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीलाई ज्यानसम्बन्धी फौजदारी अभियोगमा पक्राउ गरिएको यो पहिलो घटना भएको दाबी गरिएको छ। यसअघि राजनीतिक आन्दोलनका क्रममा नियन्त्रणमा लिने घटनाहरू भए पनि फौजदारी अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको उदाहरण थिएन।

प्रहरीले पक्राउसँगै आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ। अब २४ घण्टाभित्र उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइनेछ।