म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा कोठा भवनको छानो हावाहुरीले उडाएको छ।
कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला रहेको ६ कोठे भवनको जस्तापाताको छाना उडाएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ। हावाहुरीका कारण विद्यालयको कार्यालयमा रहेका महत्वपूर्ण कागजपत्रसमेत उडेको प्रधानाध्यापक न्याउली छन्त्यालले बताए।
कक्षा १० सम्म अध्ययन हुने उक्त विद्यालयमा करिब २०० विद्यार्थी अध्ययनरत छन्। छानो उडाएपछि कक्षा सञ्चालन गर्न पर्याप्त कोठाको अभाव भएको विद्यालय प्रशासनले जनाएको छ।
यसैबीच, अन्नपूर्ण गाउँपालिकाका शिख र घार क्षेत्रमा बुधबार परेको असिनाले हिउँदे तथा बर्खेबालीमा क्षति पुर्याएको छ। असिनापानीपछिको बाढीले सडक, खानेपानी र सिँचाइका संरचनामा समेत क्षति पुगेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।
भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार र हिस्तानलगायत क्षेत्रको जनजीवन हावाहुरी, वर्षा र असिनाका कारण प्रभावित बनेको छ।









