काठमाडौं । असुरक्षित यौन सम्पर्कपछि गर्भ रहनबाट जोगिन प्रयोग गरिने इमरजेन्सी गर्भनिरोधक चक्की आई-पिलको प्रयोग बढ्दै गएसँगै स्वास्थ्य विज्ञहरूले यसको सही प्रयोग र सावधानीबारे सचेत रहन आग्रह गरेका छन्।
लेभोनोर्जेस्ट्रेल नामक हर्मोन रहेको यो चक्की कन्डम फुट्ने वा अन्य गर्भनिरोधक उपाय असफल भएको अवस्थामा गर्भ रहन नदिन प्रयोग गरिन्छ। विज्ञहरूका अनुसार यसले मुख्य रूपमा डिम्बोत्सर्जन अर्थात् अण्डा निस्कने प्रक्रिया ढिला गर्ने वा रोक्ने काम गर्छ।
फार्मासिस्ट तथा सहायक प्राध्यापक तुलसीराम जबेगु लिम्बुका अनुसार असुरक्षित यौन सम्पर्कपछि सकेसम्म चाँडो चक्की सेवन गर्दा यसको प्रभावकारिता बढी हुन्छ। “पहिलो २४ घण्टाभित्र प्रयोग गर्दा सबैभन्दा प्रभावकारी मानिन्छ,” उनले भने, “७२ घण्टासम्म प्रयोग गर्न सकिए पनि समय ढिलो हुँदै जाँदा प्रभाव घट्न सक्छ।”
उनका अनुसार आई-पिल नियमित परिवार नियोजनको विकल्प भने होइन। “यसलाई आपतकालीन अवस्थाका लागि मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ,” उनले बताए।
स्वास्थ्यकर्मीहरूका अनुसार चक्की सेवनपछि वाकवाकी, टाउको दुख्ने, थकान, पेट दुख्ने, स्तन दुख्ने तथा महिनावारी चाँडो वा ढिलो हुनेजस्ता सामान्य साइड इफेक्ट देखिन सक्छन्। कतिपय महिलामा बीचबीचमा हल्का रक्तस्राव पनि हुन सक्छ।
विज्ञहरूले एउटै महिनावारी चक्रमा पटक–पटक प्रयोग नगर्न सुझाव दिएका छन्। बारम्बार प्रयोग गर्दा महिनावारी अनियमित हुने, हर्मोनसम्बन्धी असर बढ्ने तथा नियमित गर्भनिरोधक विधिभन्दा कम भरपर्दो हुन सक्ने उनीहरूको भनाइ छ। यद्यपि यसले महिलाको प्रजनन क्षमतामा स्थायी असर नपार्ने चिकित्सकहरू बताउँछन्।
गर्भ बसिसकेपछि भने यो चक्कीले काम नगर्ने र गर्भपतनसमेत नगराउने स्पष्ट पारिएको छ। साथै, यो औषधिले यौनजन्य संक्रमण (STIs) बाट सुरक्षा नदिने भएकाले कन्डमको प्रयोग अझै पनि आवश्यक रहेको विज्ञहरूको जोड छ।
चिकित्सकहरूका अनुसार महिनावारी एक साताभन्दा बढी ढिलो भए, असामान्य रक्तस्राव देखिए वा गर्भको लक्षण देखा परे गर्भ परीक्षण गर्नुपर्छ। तल्लो पेटमा अत्यधिक दुखाइ, धेरै रक्तस्राव, लगातार बान्ता वा एलर्जीका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि सुझाव दिइएको छ।









