गीतकार खनाललाई आर्थिक सहयोग गर्न गीतकार संघको अपिल

गीतकार सङ्घ नेपालले लोकप्रिय गीतकार डी. पी. खनाल (दुर्गा प्रसाद खनाल) को जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक, सङ्घ-संस्था एवं समग्र सङ्गीतप्रेमी नेपालीहरुमा अपिल गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै जीवन बचाउन आग्रह गरेको हो ।

गीतकार खनाल अचानक अस्वस्थ भई गत कात्तिक ३० गते पाटन अस्पताल भर्ना भएका थिए । उनी हालसम्म उपचाररत अवस्थामै रहेका छन् । अस्पताल भर्ना भई चेकजाँच पछि फोक्सो र ढाडमा रगतका साथै पिप समेत जमेको पत्ता लागेको छ । हालसम्म उपचार भईरहेको र स्वास्थ्यमा केही सुधार आए पनि अवस्थ हुनुको कारण उपचार समय निश्चित नभएको संघले जनाएको छ । करिब ४० दिनदेखिको उपचार क्रममा ठूलो धनराशी खर्च भइसकेको छ । संघका अनुसार खर्चको अभाव हुँदै गएको जानकारी प्राप्त भएकोले सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाको नेत्तृत्वमा  सल्लाहकार राजेन्द्र थापा, उपाध्यक्ष रमेश कोईराला, महासचिव टिका राई ‘शिव’, र कोषाध्यक्ष चेतन खतिवडाको टोलीले गीतकार खनाललाई अस्पतालमै भेटेर स्वास्थ्य स्थितिको बारेमा जानकारी लिई सङ्घको तर्फबाट नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

गीतकार खनालले आफ्नै स्रोतबाट मात्र उपचार खर्च जुटाउन सम्भव नदेखिएको भन्दै उनको जीवन रक्षाका लागि व्यक्तिगत र संस्थागत रुपमा यथासक्य आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक एवं समग्र सङ्गीतप्रेमी नेपालीहरुमा गीतकार सङ्घ नेपालले हार्दिक अपिल गरेको छ ।

ईच्छुक दाताहरुले सिधै संघको नाममा एभरेष्ट बैंकमा रहेको खाता नम्बर ००१००१०५२००८४७ वा
सङ्घका अध्यक्ष वसन्त बित्यासी थापा (९८४९६११२३९), महासचिव टिका राई ‘शिव’ (९८५२८९०३८३)
र कोषाध्यक्ष चेतन खतिवडा (९८५११६७२९२) लाई सम्पर्क गरी सहयोग गर्न सक्ने कुरा समेत अपिल गरेको छ ।

SHARE