७० वर्षको यात्रामा घेदुङ : ‘राम्रो र हाम्रो संस्था’ बनाउने बहसबीच १०औं महाधिवेशन

काठमाडौं । तामाङ समुदायको साझा राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ १०औं महाधिवेशनको संघारमा पुगेको छ । जेठ १, २ र ३ गते काठमाडौंको स्वयम्भूमा हुने महाधिवेशनलाई संगठनको भावी दिशा, तामाङ पहिचानको आन्दोलन र संस्थागत सुधारसँग जोडेर हेरिएको छ ।

घेदुङका उपाध्यक्ष सन्चु ब्लोनले महाधिवेशनको पूर्वसन्ध्यामा जारी गरेको अवधारणात्मक अपिलमा संस्थाको ७० वर्षे इतिहास, तामाङ समुदायको सामाजिक–सांस्कृतिक आन्दोलनमा घेदुङको भूमिका र पछिल्लो समय सामाजिक सञ्जालमा उठाइएका आलोचनाप्रति धारणा सार्वजनिक गरेका छन् ।

२०१३ सालमा स्थापना भएको नेपाल तामाङ घेदुङ नेपाल आदिवासी जनजाति महासंघका आठ संस्थापक सदस्य संस्थामध्ये एक हो । साथै, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद् सदस्य संस्थाका रूपमा पनि घेदुङ सक्रिय रहँदै आएको छ ।

संघीय संरचनाअनुसार घेदुङका प्रदेश समिति, जिल्ला समन्वय समिति, स्थानीय तह समिति र विभिन्न भातृ संगठनहरू क्रियाशील छन् । महिला, युवा, विद्यार्थी, लामा, संस्कृति, ताम्बा, बोन्बो लगायतका संरचनासँगै भाषा, लिपि, सञ्चार, उद्योग, कर्मचारी, ह्रुई–वंशावली, पुरातात्विक तथा सामाजिक कल्याण विभागहरू पनि संस्थाअन्तर्गत रहेका छन् । विदेशस्थित शाखा र अन्तर्राष्ट्रिय तामाङ परिषद् (आईटीसी) मार्फत विश्वभरका तामाङ समुदायलाई जोड्ने कामसमेत भइरहेको घेदुङको दाबी छ ।

ब्लोनका अनुसार घेदुङले तामाङ समुदायको भाषा, लिपि, सोनाम ल्होछार, संस्कार तथा सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनमा निरन्तर भूमिका खेलेको छ । ताम्सालिङ पहिचान र अधिकारको आन्दोलनमा पनि संस्थाले संस्थागत नेतृत्व गर्दै आएको उनले उल्लेख गरेका छन् ।

“आज विश्वभर मनाइने सोनाम ल्होछार आफैं स्थापित भएको होइन,” ब्लोनले भनेका छन्, “तामाङ भाषा प्रसारण दिवस, तागी (टोपी) सहितको गोइलोको प्रवर्द्धन, मातृभाषाको सवाल र बागमती प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा तामाङ भाषा लागू हुने अवस्थासम्म आइपुग्दा घेदुङको महत्त्वपूर्ण भूमिका छ ।”

उनले सामाजिक रूपान्तरणका धेरै उपलब्धि घेदुङकै अगुवाइमा सम्भव भएको दाबी गरेका छन् । पञ्चायती व्यवस्थाको दमनकारी समयमा तामाङ समुदायलाई संगठित गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानकै जगमा घेदुङ उभिएको उनको भनाइ छ ।

यद्यपि पछिल्लो समय संस्थाको भूमिका, नेतृत्व शैली र कार्यसम्पादनलाई लिएर सामाजिक सञ्जालमा आलोचना बढिरहेका बेला ब्लोनले त्यसप्रति पनि प्रतिक्रिया दिएका छन् । व्यक्तिहरूको कमजोरीका आधारमा संस्थालाई नै गलत ठहर गर्न नहुने उनको तर्क छ ।

“कहिले काम देखिने गरी भयो होला, कहिले अपेक्षाअनुसार हुन सकेन होला,” उनले भनेका छन्, “तर संस्था आफैं गलत हुँदैन ।”

सहकारी, लिपि, जेन्जी समूह लगायतले उठाएका प्रश्न र असन्तुष्टिलाई सम्बोधन गर्दै नीति र विधिअनुसार महाधिवेशन सम्पन्न गरिने उनले बताएका छन् ।

उनले अग्रज पुस्ताप्रति सम्मान व्यक्त गर्दै संस्थागत एकताको आवश्यकता औंल्याएका छन् । “जग बिनाको घरको परिकल्पना गर्न सकिँदैन,” उनले भनेका छन्, “मक्किएका दलिन फेरौं, मुसाले खनेका दुला टालौं, रङरोगन गरौं, तर घर भत्काउने काम नगरौं ।”

घेदुङभित्र देखिएका विवाद र आलोचनालाई स्वीकार्दै उनले महाधिवेशनलाई तामाङ समुदायको साझा भविष्य निर्माण गर्ने अवसरका रूपमा लिन आग्रह गरेका छन् ।

“सबैको संस्था हो,” ब्लोनले भनेका छन्, “आउनुस्, छलफल गरेर ‘राम्रो र हाम्रो’ घेदुङ बनाऔं ।”