भक्तपुर। भक्तपुरमा आगामी ६ र ७ चैतमा दुईदिने चलचित्र महोत्सव आयोजना हुने भएको छ। यहाँका युवा फिल्मकर्मीहरूको समूहले पहिलो पटक यस्तो महोत्सव आयोजना गर्न लागेको हो।
युवा फिल्मकर्मी किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी र प्रवीण टक्कीलगायतको समूहले महोत्सव आयोजना गर्न लागेको हो।
महोत्सव निर्देशक किरण किलम्बूका अनुसार भक्तपुरको कला र साहित्यलाई प्रवर्द्धन गर्नुका साथै नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिन महोत्सव आयोजना गर्न लागिएको हो। ‘भक्तपुर हाम्रो जन्मथलो पनि हो। त्यसैले यहाँको संस्कृति र कलालाई विकास गर्ने हेतुले हामीले यो महोत्सव यहाँ पहिलो पटक आयोजना गर्न लागेका हौं,’ उनले भने।
किलम्बुले यसअघि कबड्डी ४, फूलबारी, दिमाग खराब, फेरि रेशम फिलिली र डिग्री माइलालगायतका फिल्ममा काम गरिसकेका छन्।
महोत्सव संयोजक समेत रहेका स्मित गिरीका अनुसार स्वतन्त्र (इन्डी) फिल्मकर्मीले बनाएका फिल्मलाई प्लेटफर्म दिन महोत्सव आवश्यक देखिएको हो। ‘स्वतन्त्र रूपमा फिल्म बनाइरहेका फिल्मकर्मीलाई प्लेटफर्म दिन हामीले यो महोत्सव आयोजना गरेका हौं। सिनेमा लिट्रेसी बढाउनु पनि महोत्सवको उद्देश्य हो,’ उनले भने। गिरीसँगै सफल वैद्य पनि महोत्सव संयोजक हुन्।
दुई दिने महोत्सवमा २४ वटा फिल्म प्रदर्शन गरिनेछन्। निर्देशक नवीन सुब्बाको फिल्म गाउँ आएको बाटो देखाएर महोत्सवको उद्घाटन गरिनेछ। महोत्सवमा सुजित बिडारी निर्देशित ऐना झ्यालको पुतली, अंकित पौडेलको सङ्ग अफ क्लाउड्स, किरण श्रेष्ठको एट एनोदर विन्टर तथा राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ढोरपाटन लगायतका फिल्म प्रदर्शन गरिनेछन्।
समापन फिल्मका रूपमा सन्देश भुर्तेलको डकुमेन्ट्री मदर रेबिका देखाइनेछ। महोत्सवमा नेवा संस्कृतिसँग सम्बन्धित किजा पूजा र नेवा बुद्धिजम इन नेपाल पनि प्रदर्शन गरिनेछ।
महोत्सवका क्रममा फिल्मकर्मी केशव पाण्डेले कथा लेखनसम्बन्धी कार्यशाला सञ्चालन गर्नेछन्। महोत्सव सुरु हुनुअघि फागुन ३० गते रुशेल शिल्पकारसँगको सहकार्यमा ‘हेरिटेज वाक’ कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएका छन्।
महोत्सव नेपाल भोकेस्नल एकेडेमी, कमलविनायकमा आयोजना हुनेछ।









