काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत उनले प्रधानमन्त्रीले संसद्को अपमान गरेको, संसदीय परम्पराको बेवास्ता गरेको तथा लोकतान्त्रिक अभ्यास कमजोर बनाएको आरोप लगाएका हुन् ।
साम्पाङले प्रधानमन्त्री शाहले संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको आरोप लगाउँदै जनताको सार्वभौम संस्थाका रूपमा रहेको संसद्लाई बेवास्ता गरेको बताएका छन् ।
उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने महत्त्वपूर्ण समयमा प्रधानमन्त्री अनुपस्थित रहेको, संसदीय छलफलमा सहभागी नभएको तथा जनतालाई सम्बोधन नगरेर लोकतन्त्रमाथि नै अविश्वास देखाएको दाबी गरेका छन् ।
‘आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ ?’ विज्ञप्तिमा साम्पाङले प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीलाई ‘असक्षम र असफल’को संज्ञा दिएका साम्पाङले न्यूनतम कर्तव्यसमेत पूरा गर्न नसकेको भन्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
‘कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त हुँदैन । न्यूनतम कर्तव्यसमेत पूरा नगरेकाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।









