झिरबाट सुरू भएको सपनाः ‘हाङक्यो सेकुवा भट्टी’सम्मको यात्रामा : सञ्जीव लामा

व्यवसाय ठूलो हुनैपर्छ भन्ने छैन, परिकार स्वादिलो हुनुपर्छ । प्लेट, काँटा–चम्चा र मेनु साधारण भए पनि ग्राहकको जिब्रो जित्न सकियो भने व्यवसाय आफैं चल्छ । यही विश्वासका साथ ३८ वर्षीय सञ्जीव लामाले अघि बढाएको उद्यम हो—हाङक्यो सेकुवा भट्टी।
आगोको रापमा पाकेको सेकुवाको सुवासले लोभ्याउने ह्याङकु कुनै फेन्सी रेस्टुरेन्ट होइन । सामान्य संरचना, तर परिकारको गुणस्तरमा कुनै सम्झौता छैन । “परिकार मीठो भयो भने साधारण तरिकाले पनि सेकुवा भट्टी चलाउन सकिन्छ,” सञ्जीव भन्छन्, “ग्राहकलाई खाना र सत्कारले लोभ्याउने हो।”

२०६३ सालदेखि सेकुवाको स्वाद

२०६३ सालमा सुरू भएको हाङक्योले आज धेरै सेकुवा पारखीको मन जितिसकेको छ । दिउँसो खाजाका लागि चर्चित यो भट्टी साँझपख साथीभाइ भेला हुने अड्डा बनेको छ ।
नारायणगोपाल चोकबाट बसुन्धारा जाने चक्रपथ नजिकै रहेको हाङक्यो अहिले दुई दशक नजिक पुग्दैछ।
यहाँको मुख्य आकर्षण नै सेकुवा हो—पोर्क, चिकेन, बफ सेकुवा, चिकेन पखेटा, पाडंग्रा, पोर्क चिल्ली, चिकेन चिल्ली, बाफ चिल्ली लगायतका परिकार पाइन्छन् ।
सेटमा भुजा, भुजिया, मूलाको अचार, गोलभेँडाको अचार र सलाद हुन्छ । साथै, भेज सेकुवा सेट र पोलेको आलु पनि उपलब्ध छन् ।
“मेनुमा एक दर्जनभन्दा बढी परिकार छन्, तर अधिकांश ग्राहक सेकुवाकै लागि आउँछन्,” सञ्जीव भन्छन्।

काभ्रेदेखि काठमाडौं सम्मको संघर्ष

काभ्रेका सञ्जीव कलिलै उमेरमा पढाइका लागि काठमाडौं आए । पढाइसँगै विभिन्न काम गदै ,पसल नजिकै बसेर सेकुवा र अन्य परिकार बनाउने सीप, स्वाद र ग्राहकको रुचि बुझ्ने मौका पाए ।
एक दशकभन्दा बढीको अनुभव, आत्मविश्वास र सीप लिएर आफ्नै व्यवसाय गर्ने अठोट गरे ।
“किफायती मूल्यमा मीठो सेकुवा पाउन मुस्किल छ,” उनी भन्छन्, “त्यसैले गुणस्तरीय र स्वादिलो सेकुवा खुवाउने निर्णय गरेँ।”

४ लाखबाट सुरू भएको उद्यम

करिब ४ लाख रुपैयाँ लगानीमा सुरू भएको हाङक्यो आज रोजगारी सिर्जना गर्ने थलो बनेको छ । हाङक्यो प्रत्येक दिन अपराह्न १ बजेदेखि राति १० बजेसम्म खुला रहन्छ ।
सञ्जीवको सपना यहीँ रोकिने छैन ।
“फ्रेन्चाइज रेस्टुरेन्ट व्यवसाय मेरो सपना थियो,” उनी भन्छन्, “हाङक्यो सेकुवा भट्टी त्यही मोडलमा सञ्चालन गर्दैछु।”
उनको लक्ष्य काठमाडौं उपत्यकाभर कम्तीमा ५० वटा फ्रेन्चाइज हाङक्यो सञ्चालन गर्ने हो ।
“हाङक्योले नयाँ उद्यमी जन्माइरहेको छ,” उनी गर्वका साथ भन्छन्।

अवसरहरूको भूमि नेपाल

सञ्जीव लामा नेपाललाई अवसरले भरिएको भूमि ठान्छन् ।
“व्यवसाय चुनौतीपूर्ण हुन्छ,” उनी भन्छन्, “तर रुचिअनुसार इमानदारी पूर्वक काम गर्ने हो भने सफलता अवश्य मिल्छ।” झिरबाट सुरू भएको सानो सपना आज सेकुवाको धुवाँ रहित भट्टीमा परिणत गरेको छु । हाङक्यो सेकुवा भट्टी—स्वाद, संघर्ष र सफलताको एउटा ज्वलन्त मेरो कथा हुन्।

SHARE