काठमाडौँ । गायक अर्जुन सापकोटाले चलचित्र ‘ककाकिकी’को शीर्ष गीतमार्फत फिल्मी गायनमा डेब्यु गरेका छन्। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको शीर्ष गीतमा अर्जुनसँगै गायिका मेलिना राईको पनि स्वर छ।
अर्जुनकै संगीत रहेको गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। गीतको भिडियो बुधबार जर्सिङ पौवामा छायांकन गरिएको निर्देशक बिक्की अग्रवालले जानकारी दिए।
चलचित्रको कथाअनुसार गाउँमा आयोजना भइरहेको उत्सवको दृश्यमा गीतलाई समेटिएको छ। भिडियोमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे र खड्गबहादुर पुनमगरलगायत कलाकार देखिनेछन्।
गायक अर्जुन सापकोटा स्वयंले पनि भिडियोमा नृत्य गरेका छन्। उनीसँगै पवित्रा साकी ‘मिस पवि’, सजिना खनाल र निश्चल खड्काले अभिनय तथा नृत्य गरेका छन्। भिडियोको कोरियोग्राफी मिग्मा डि लेप्चाले गरेका हुन्।
निर्देशक अग्रवालका अनुसार चलचित्रको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। शीर्ष गीत यही साताको अन्त्यतिर सार्वजनिक गर्ने तयारी रहेको उनले बताए।
‘ककाकिकी’मा दिया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय छ।








