‘मयुङ अर्थात् माइती’को फर्स्ट लुक सार्वजनिक, दसैं-तिहारपछि छायांकन

काठमाडौं । जिम्बा फिल्म प्रोडक्सनको १५औँ प्रस्तुति तथा मङ्गलीमाया स्याङतानको निर्माणमा बन्न लागेको तामाङ भाषाको चलचित्र ‘मयुङ अर्थात् माइती’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

चलचित्रको निर्देशन निमा लामा तामाङले गर्दैछन्। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन दसैं तथा तिहारपछि सुरु हुनेछ। काठमाडौं आसपासका विभिन्न स्थानमा छायांकन गर्ने तयारी गरिएको छ।

चलचित्रमा पेमा लामा योन्जन र मीनकुमार वाइबा निर्माता तथा आरकेबी लामा कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा जय स्याङतान, सिताराम गोले, कल्पना वाइबा, करिशा वाइबा, हिरोज लोप्चन, मनिष रेस खड्का, गोम्बो तामाङ लो, सुनलाल वाइबा, मंगलसिंह ग्यावा र छविलाल बोम्जन लगायत कलाकारको अभिनय रहनेछ।

चलचित्रको शब्द तथा संगीत निमा लामा तामाङको रहेको छ। गीतमा विशाल काल्तन, शुभ तामाङ, जितु लोप्चन र सुमिना लोको स्वर रहनेछ। एरेन्जरका रूपमा चाँद सिंह र बुद्ध स्याङ्बा रहेका छन्।

निर्देशक लामाका अनुसार ‘मयुङ अर्थात् माइती’मा चेली र माइतीबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाइएको छ। यससँगै पारिवारिक सम्बन्ध तथा श्रीमान्–श्रीमतीबीचको सम्बन्धका विभिन्न पक्षलाई पनि कथामार्फत प्रस्तुत गरिने उनले बताए।

यसअघि आफूले निर्देशन गरेका चलचित्रभन्दा ‘मयुङ अर्थात् माइती’लाई अझ परिष्कृत र उत्कृष्ट बनाउने प्रयास रहने निर्देशक लामाको भनाइ छ। चलचित्रले तामाङ समुदायको पारिवारिक सम्बन्ध र सामाजिक परिवेशलाई कथाको माध्यमबाट प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।