मुगु । रारा भ्रमणमा आएका १२ जना आन्तरिक पर्यटकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका उनीहरूलाई नेपाली सेनाको हनुमानध्वज गुल्म राराले उद्धार गरेको हो।
हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारीबाडाका १२ जना पर्यटक रारा भ्रमणका क्रममा बाटो बिराएर चुच्चेमारा जङ्गलमा अलपत्र परेका थिए।
पर्यटक जङ्गलमा अलपत्र परेको सूचना प्राप्त हुनासाथ नेपाली सेनाले उद्धार टोली परिचालन गरेको थियो। गुल्मपति श्रेष्ठका अनुसार उद्धारमा खटिएको टोलीले राति करिब १० बजे सबै पर्यटकलाई सकुशल उद्धार गरी सल्लेरीस्थित होटलसम्म पुर्याएको थियो।
चुच्चेमारा क्षेत्रमा पर्यटक अलपत्र परेको जानकारी पाएलगत्तै नेपाली सेनाले तत्काल उद्धार टोली परिचालन गरी मानवीय उद्धार कार्य गरेको हो।









