महजोडी भन्छन् : धुर्मुस- सुन्तलीबाट सरकारले सिकोस्

हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले धुर्मुस-सुन्तलीले हास्य कलाकारिता क्षेत्रलाई उजिल्याएको बताएका छन् । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती पुगेका महजोडीले स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुस र सुन्तलीले थालेको देश निर्माणको काम सिंगो कला क्षेत्रका लागि गर्व गर्नलायक भएको बताए । महजोडीसँग राजकरण महतोले गरेको कुराकानीको संक्षेप :

पाँच दिनअघि (२५ पुस २०७३) तपार्ईंहरूले एकीकृत नमुना मुसहर बस्ती शिलान्यास गर्नुभएको थियो । आज फेरि आउँदा के फरक पाउनुभयो ?
मदन : पाँच दिनबीच बस्ती निर्माणको काम निकै अघि बढेछ । काम कसरी अघि बढ्छ भन्ने दृष्टान्त पाएका छौं ।
हरिवंश : जाँगरिला हातको कमाल देखियो ।

काम सुरु भएको सय दिनमै घर हस्तान्तरण गरिने घोषणा छ, भनेको समयमै ५० वटा घर हस्तान्तरण हुने सम्भावना के देख्नुहुन्छ?
मदन : यहाँको काम गराइले तोकिएको अवधिमै घर हस्तान्तरण हुन्छजस्तो लाग्छ ।
हरिवंश : मन सोझिएको छ, काम सोझिएको छ । आउने वैशाख १ गते यहाँका मुसहर नयाँ घरमा सर्छन् ।

कला क्षेत्रका हस्तीहरू विकासनिर्माण र समाजसेवामा जुटेका छन्, देश निर्माण गर्छौं भन्नेले के गर्छन् होला ?
मदन : देश निर्माण गर्छौं भन्नेहरूले चिन्ता गर्न पर्दैन । धुर्मुस-सुन्तली काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा काम सकेर बर्दिवासको मुसहर बस्ती आएका छन् । यहाँको काम सकेर कहीँ जालान् । बाँकी सिंगै नेपाल बनाउँछौं भन्नेका लागि खुला छ त ।
हरिवंश ; देशमा काम गर्नुपर्ने क्षेत्र विशाल छ । बनाउँछौं भन्ने मित्रहरूले संकल्प गरेर अघि बढे हुन्छ । सम्झिए हामी पनि सकेको सहयोग गर्न पुग्छौं ।

तपाईंहरू हास्य कलाकारिता क्षेत्रको महारथी पनि आपूmपछिका कलाकारलाई नियालिरहनुभएको होला । यो क्षेत्रको सम्भावना कस्तो देख्नुभएको छ ?
मदन : धुर्मुस-सुन्तलीसहितको जाँगरिलो नयाँ पुस्ता काममा लागेको छ । के तपार्इंलाई शंका छ ? हाम्रो हास्य कलाकारिता क्षेत्रमा मान्छे (दर्शक) हँसाउनेमात्र हैन, देश हँसाउने पात्र पनि छन् भन्नेमा ।
हरिवंश : मदन दाइले भन्नुभयो नि ! हामी हाम्रो नयाँ पुस्ताप्रति गर्व गछौं । धुर्मुस र सुन्तलीबाट देश बनाउने ज्ञान सरकारले सिकोस् । त्यो प्रतिबद्धता, त्याग र मानवीयता अनुसरण गरोस् न ।

SHARE