पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ ।

Loaded 9mm handgun.
काठमाडौँ — सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार दुई व्यक्तिलाई पक्राउ गरी पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरिएको छ ।

गत असार ३० गते चोरी भएको पेस्तोलसहित सिन्धुपाल्चोक घर भएका वासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङलाई बौद्धबाट पक्राउ गरिएको उनले बताए । सुरुमा मेघबहादुरको कोठाबाटै पेस्तोल बरामद गरी उनलाई पक्राउ गरिएको र उनको बयानका आधारमा चोरीमा संलग्न देखिएपछि थामी पक्राउ परेका थिए ।

घरको कोठामा पेस्तोल राखिएको झोलासहित झ्यालबाट अंकुसे लगाएर चोरी भएको थियो । त्यसलगत्तै खड्काले पेस्तोल चोरी भएको भनी प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । सोही आधारमा खोजतलासका क्रममा पेस्तोल बरामद गरी उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक ढुङ्गेलले बताए । उनका अनुसार उक्त घटनाको थप अनुसन्धान भइरहेको छ ।

SHARE