नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औं प्राज्ञसभा सुरु

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औं  प्राज्ञसभा शुक्रबार सुरु भएको छ । सभाको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री किरातीले भाषा र लिपिको आविष्कारभन्दा पहिला कलाको विकास भएको कुरा बताए । उनले नेपालमा विविध स्थानमा छरिएर रहेका सम्पदाहरूलाई जोगाउन सकेमा पर्यटनको विकास अझ सहज हुने धारणा समेत राखे। ‘कला, संस्कृतिको उत्थानका निमित्त तपाईँहरूले अहोरात्र काम गरिरहनुभएको छ ।

यसको विकास गर्न प्राज्ञिक क्षेत्रले विशेष योगदान गर्नुपर्ने छ’, उनले भने । यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले २०६४ को ऐनबाट सञ्चालित तीनवटै एकेडेमीले काम गरिरहेको तर २०७२ को संविधानपछि प्राज्ञिक काम र तीनका अधिकार प्रदेशमा पनि गएको प्रसङ्ग जोड्दै कसले कति काम गर्ने र प्रदेश पालिकाले कति गर्ने अन्योलको स्थिति रहेको कुरा व्यक्त गर्दै यसलाई व्यवस्थित र सजिलो कसरी बनाउने भन्ने विषयमा छलफल गर्नुपर्ने धारणा राखे ।
प्रतिष्ठानका पूर्व कुलपति रागिनी उपाध्यायले प्राज्ञ सभालाई शुभकामना दिँदै प्रतिष्ठानले आगामी दिनमा राष्ट्रियसँगै अन्तर्राष्ट्रिय कलासम्मेलन/प्रदर्शनी जस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘कलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान तथा यसबारे पहल गर्न पूर्वकुलपतिको हिसाबले म आफूले सकेको सहयोग गर्छु ।’
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले संस्कृतिको सैद्धान्तिकरण गर्ने र
नेपाली कलाको विषयमा देखिएका समस्यालाई एकीकृत रूपले नीति बनाएर अघि बढ्ने कुरा बताए ।

उपकुलपति लालकाजी लामाले प्राज्ञ सभा विशेषतः नीतिनिर्माण र पुनर्जागरणका लागि आगामी रोड म्याप तयार गर्ने र रैथाने कला तथा ज्ञानलाई अघिबढाउँदै लैजाने कुरामा केन्द्रित हुने सुनाए । कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठान अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै कला सिर्जनालाई सामाजिकीरण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, पूर्व कुलपति, उपकुलपति, मानार्थ सदस्य, अग्रज
कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो । प्राज्ञसभा शनिबार समापन हुनेछ ।

SHARE