दोलखाको जुँगुबाट उठेर प्रदेश सरकारसम्म पुगेको एउटा नाम हो-विशाल खड्का। उहाँ केवल कुनै दलका नेता मात्र होइनन्, दोलखाको राजनीतिक चेतना, जनसंघर्ष र समृद्ध भविष्यको प्रतिनिधि पात्र हुन्। २०३८ साल वैशाख ३ गते किसान परिवारमा चौधौँ सन्तानका रूपमा जन्मनु भएका खड्काले बाल्यकालमै सामाजिक विभेद, अभाव र राज्यको असमान व्यवहार नजिकबाट अनुभूत गर्नुभयो। पञ्चायतकालदेखि नै वामपन्थी राजनीतिमा संलग्न परिवारिक पृष्ठभूमिले उहाँको वैचारिक आधार निर्माण गर्यो।

नीलकण्ठेश्वर माध्यमिक विद्यालयबाट जिल्लाकै उत्कृष्ट नतिजासहित एसएलसी उत्तीर्ण गरेपछि विशाल खड्काको सपना इन्जिनियर बन्ने थियो। तर व्यक्तिगत भविष्यभन्दा सामूहिक परिवर्तन ठूलो ठानेर उहाँले राजनीतिलाई जीवनको मार्ग रोज्नुभयो। मुलुकमा व्याप्त अन्याय, दमन र असमानताविरुद्ध आवाज उठाउने दृढ इच्छाले २०५४ सालदेखि उहाँलाई नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ताका रूपमा जनयुद्धमा होमिन बाध्य बनायो। १६ वर्षकै कलिलो उमेरमा १८ वटा राज्यविरुद्धका मुद्दा खेप्दै लामो जेल जीवन बिताउनु परे पनि उहाँको आत्मबल कहिल्यै कमजोर भएन।
जेललाई दण्ड होइन, अवसरका रूपमा उपयोग गर्दै खड्काले स्वअध्ययनमार्फत अर्थशास्त्रमा स्नातकसम्मको अध्ययन पूरा गर्नुभयो। यही चरणले उहाँलाई केवल आन्दोलनकारी मात्र होइन, अध्ययनशील र वैचारिक नेता बनायो। विद्यार्थी राजनीतिमा अखिल क्रान्तिकारी दोलखाका सबैभन्दा कान्छा जिल्ला अध्यक्ष बनेर इतिहास रच्नु उहाँको संगठन क्षमता र नेतृत्व कौशलको प्रमाण हो। लगातार तीन कार्यकाल उक्त जिम्मेवारी सम्हाल्नु उहाँप्रतिको विश्वासको प्रतिबिम्ब हो।
आठ वर्षको जेल जीवनपछि पुनः आन्दोलनमा फर्केर पार्टीका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै निर्वाचन कमान्डर, संविधानसभा उम्मेदवार हुँदै प्रदेशसभा सदस्य बन्नु उहाँको निरन्तर संघर्षको यात्रा हो। २०७४ सालको निर्वाचनमा भारी मतका साथ निर्वाचित भई बागमती प्रदेश सरकारका बन तथा वातावरण मन्त्रीका रूपमा काम गरिसक्नु भएका खड्काले विकास र वातावरणबीचको सन्तुलनलाई आफ्नो कार्यदिशा बनाउनु भयो।
आज विशाल खड्का दोलखाको लोकप्रिय युवा नेताका रूपमा स्थापित हुनुको मुख्य कारण उहाँको सरल जीवनशैली, बौद्धिक स्पष्टता र जनताप्रतिको इमानदार समर्पण हो।
यदि अबको निर्वाचनमा जनताले विशाल खड्कालाई प्रतिनिधिसभामा पठाए, दोलखा केवल सडक र भवनमा मात्र होइन-शिक्षा, पर्यटन, रोजगारी, कृषि आधुनिकीकरण र सामाजिक न्यायमा समेत नमूना जिल्ला बन्ने सम्भावना बोकेको छ। निष्ठाको राजनीतिमा विश्वास गर्ने, लेखन र अध्ययनमार्फत विचार निर्माण गर्ने विशाल खड्काको नेतृत्वमा दोलखाको कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा पुग्न सक्छ।
विशाल खड्का कुनै एक व्यक्ति मात्र होइनन् उहाँ दोलखाको संघर्ष, चेतना र समृद्ध भविष्यको राजनीतिक अभिव्यक्ति हुन्।











