पीपीए खुलाउने प्राधिकरणको निर्णयको स्वागत

सौर्य ऊर्जा उत्पादकहरूले सौर्य आयोजनाबाट उत्पादित बिजुलीको खरिद सम्झौता (पीपीए) गर्ने विद्युत् प्राधिकरणको निर्णय स्वागत गरेका छन् । सौर्य ऊर्जा उत्पादकहरूको संस्था (सोपान)ले एक विज्ञप्ति जारी गर्दै प्राधिकरणको बोर्ड बैठकले गरेको निर्णयको स्वागत गरेको हो ।

सौर्य ऊर्जाको महत्त्व बुझेर सोलार आयोजनाको पीपीए खुलाउन लागेको ब्यहोरा जानकारीमा आएकाले सो निर्णयको सोपानले स्वागत गर्दछ ।’ यो निर्णयबाट नेपालमा हाल कायम असन्तुलित विद्युत् आपूर्तिलाई न्यूनीकरण गर्न मद्दत पुग्ने सोपानको भनाइ छ ।सुक्खायाममा भारतबाट विद्युत् आपूर्ति कम गर्दै ऊर्जामा नेपाललाई स्वावलम्बी बनाउन सक्ने सोलार आयोजनाहरूलाई प्रोत्साहन भएमा सुक्खायाममा देखिने असन्तुलनलाई छोटो समयमा नै निराकरण गर्न सकिने बताइएको छ ।

यद्यपि, जलविद्युत आयोजनाहरूले विद्युत् खरिद सम्झौतामा पाउने वार्षिक वृद्धिको सुविधा सोलार परियोजनाले समेत पाउने व्यवस्था हुनुपर्ने बताइएको छ ।

सोलार परियोजनाका लागी आवश्यक उपकरणसहितको सम्पूर्ण आयोजना लागत हेर्दा लगभग ७० प्रतिशत आयातित सामान ल्याउनुपर्ने अवस्था छ । अमेरिकी डलरको भाउमा भइराख्ने परिवर्तनले गर्दा सोलार आयोजनाको लागतमा उतारचढाव हुने व्यवसायीको भनाई छ । सोही कारण, भारतको आन्तरिक बजारलाई आधार मानेर नेपालमा समेत न्यून दर तोक्न नहुने व्यवसायीको भनाइ छ ।

सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेर ७०० देखि ८०० मेगावाटका परियोजनाको पीपीए खुलाउँदा वार्षिक वृद्धिको सुविधा समेत थपिनुपर्ने सोपानले माग गरेको छ ।

SHARE