नाम्खा र हलेसीबिच मितेरी साइनो

हुम्लाको नाम्खा गाउँपालिका र खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाबिच मितेरी साइनो जोडिएको छ । सांस्कृतिक सम्बन्ध कायम गर्ने उद्देश्यले दुई स्थानीय मितेरी साइनो जोडिएको हो । कैलाश मानसरोवरनजिकै रहेको हुम्लाको रिङ्छेलिङ गुम्बालगायतका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल रहेको नाम्खा गाउँपालिका र प्रसिद्ध त्रिधार्मिक स्थल हलेसी रहेको हलेसी तुवाचुङ नगरपालिकाबिच मितेरी साइनो गाँसिएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो ।

उहाँले हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईलाई सो प्रस्ताव राख्नुभएको थियो । नगर प्रमुख राईले उक्त प्रस्ताव स्वीकार गरेपछि अध्यक्ष लामाको टोली हुम्लाबाट खोटाङ पुगेको हो ।

दुई स्थानीय तहबिच सांस्कृतिक साइनो गाँसेर धार्मिक तथा पर्यटन प्रवर्धन गर्ने प्रतिबद्धतासमेत जनाएको बताउँदै उहाँले यस किसिमको सम्बन्धले आपसी सम्बन्ध र विकासमा उपलब्धि हासिल हुने जनाउनुभयो । मितेरी साइनो जोडिएपछि धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरिने नाम्खा गाउँपालिका अध्यक्ष लामाले बताउनुभयो ।

मितेरी साइनो जोडिएपछि सांस्कृतिक पक्ष मात्र होइन, धार्मिक तथा पर्यटकीय क्षेत्रको पनि विकास र प्रवर्धनमा मिलेर लाग्ने हलेसी नगर प्रमुख राईले बताउनुभयो । यो नेपालमै पहिलो अभ्यासका रूपमा भएको छ ।

मितेरी साइनो कार्यक्रममा दुवै स्थानीय तहका प्रमुख तथा अध्यक्षबिच मायाको चिनो साटासाट गरिएको थियो । सो अवसरमा विकासका लागि आफ्ना अनुभवसमेत साटासाट गरिएको थियो ।

SHARE