मिटरब्याज, लघुवित्तपीडित र दुग्ध उत्पादक किसानका माग सम्बोधन गर्न राप्रपाको अल्टिमेटम

मिटरब्जाज, लघुवित्त र दुग्ध किसानको भुक्तानीको विषय यथाशीघ्र सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई अल्टिमेटम दिएको छ।सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसद् बैठकसम्म यसको सम्बोधन गर्न अल्टिमेटम दिएका हुन्।

अन्यथा सदन अवरूद्ध गर्ने उनले चेतावनी दिए।‘मिटरब्याजपीडित, दुग्ध उत्पादक किसानको भुक्तानीको कुरा, लघुवित्तको समस्या सरकार सुनेर पनि नसुनेझैं गरिरहेको छ। देखेर पनि नदेखेकोजस्तो गरी बसिराखेको छ,’ उनले भने, ‘आज म ठोस रूपमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। पार्टीको तर्फबाट भन्न चाहन्छु– मिटरब्याज, लघुवित्त पीडितहरूको, दुग्ध कृषकहरूको समस्यामा अनदेखा गरेको छ मात्र होइन, उनीहरूको पीडामाथि हस्सिमजाक उडाइरहेको छ।

हामी सधैँ यसरी टुलुटुल हेरेर बस्न सक्दैनौं। म लामो कुरा भन्दिनँ। सरकारले यो तीनवटा विषय आउने बैठकभित्रमा ठोस रूपमा सम्बोधन गरेन भने त्यो बैठकबाट राप्रपाले संसद् अवरूद्ध गर्छ। हामीलाई संख्यामा कम भएको कारणले यहाँबाट निकालिन्छ भने हामी निस्कन तयार छौं,’ उनले भने।उनले यस विषयलाई सदन र सडक दुवैतर्फ उभिने उनले बताए।

SHARE