म्याग्दी। रघुगङ्गा गाउँपालिकाका १४ वटा विद्यालयमा कक्षा १ देखि मगर खाम भाषामा पठनपाठन सुरु गरिएको छ। मगर समुदायको बाहुल्यता रहेका बस्तीका विद्यालयमा मातृभाषा शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हो।
गाउँपालिकाको सहयोगमा नेपाल पुनमगर समाजले तयार पारेको ‘गेमीं मगर खाम’ पाठ्यपुस्तक विद्यालयहरूलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए। उनका अनुसार मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणलाई प्राथमिकता दिँदै पठनपाठन सुरु गरिएको हो।
“बालबालिकाले दैनिक जीवनमा बढी प्रयोग गर्ने शब्दावली र भाषिक अभ्यासलाई पुस्तकमा समेटिएको छ,” अध्यक्ष भण्डारीले भने।
मगर खाम भाषामा अध्यापनका लागि आवश्यक जनशक्ति तयार गर्न यसअघि शिक्षकहरूलाई सातदिने तालिमसमेत प्रदान गरिएको थियो। शिक्षकको क्षमता विकासमार्फत मातृभाषा शिक्षालाई प्रभावकारी बनाउने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ।
नेपाल पुनमगर समाज रघुगङ्गाका अध्यक्ष टीका पुर्जा पुनले नयाँ पुस्तामा मातृभाषाप्रति रुचि बढाउन र भाषाको महत्वबारे सचेतना फैलाउन मगर खाम भाषामा पठनपाठन सुरु गरिएको बताए।
महादेव मावि, पार्वती आधारभूत विद्यालय, कालिका मावि, जनता मावि, शिव आधारभूत विद्यालय, अमर मावि (चिमखोला), सिद्ध आधारभूत विद्यालय, महेन्द्र मावि, शिशुकल्याण आधारभूत विद्यालय, अमर मावि (पाखापानी), हरि आधारभूत विद्यालय, रायखोर आधारभूत विद्यालय र जनआदर्श आधारभूत विद्यालयमा मगर खाम भाषाको कक्षा सञ्चालन गरिएको समाजले जनाएको छ।
भाषाविद्हरूका अनुसार नेपाल एकीकरणपछिको राजनीतिक तथा सामाजिक परिवर्तनसँगै मगर खाम भाषा र यसको लिपिको प्रयोग क्रमशः घट्दै गएको थियो। पछिल्लो पहललाई भाषाको संरक्षण र पुनर्जीवनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
रघुगङ्गा गाउँपालिकाका वडा नम्बर १, ४, ५, ६ र ७ मा मगर समुदायको बाहुल्य बसोबास छ। वडा नम्बर ८ कुइनेमङ्गले र वडा नम्बर ६ को ठाँडाखानी क्षेत्रमा अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको छ।
गाउँपालिकाले छन्त्याल भाषामा समेत पठनपाठन सुरु गर्ने तयारी गरिरहेको अध्यक्ष भण्डारीले बताए। वडा नम्बर २ भगवती र वडा नम्बर ३ पिप्लेमा भने क्षेत्री, दलित, ब्राह्मण र ठकुरी समुदायको मिश्रित बसोबास रहेको छ।









