तामाङ पत्रकार संघको २२औँ स्थापना दिवसमा चार पत्रकार सम्मानित

काठमाडौं । तामाङ पत्रकार संघको २२औँ स्थापना दिवसको अवसरमा पत्रकारिता, मातृभाषा संरक्षण, सांस्कृतिक योगदान र महिला प्रतिभा प्रवर्द्धन विधामा चार पत्रकार तथा लेखकलाई पुरस्कार प्रदान गरिएको छ।

दीपेन्द्र दोङ तामाङ स्मृति पत्रकारिता पुरस्कार पत्रकार अञ्जु डिम्दोङलाई प्रदान गरिएको छ। २०६७ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय डिम्दोङलाई १० हजार रुपैयाँसहित सम्मानपत्र दिइयो।

संघका संस्थापक नाममा स्थापित रवीन्द्र तामाङ पत्रकारिता पुरस्कार ‘मेन्दोला फोले’ पोडकास्टका प्रस्तोता सुनिल लामालाई  १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।

नेपाल टेलिभिजनको तामाङ भाषाको समाचार ‘तामाङ तामसोर’का प्रस्तोता वीरबल तामाङलाई तामाङ मातृभाषा पत्रकारिता पुरस्कार १० हजार रुपैयाँसहित प्रदान  गरिएको हो।

यसैगरी सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने नारी प्रतिभालाई प्रोत्साहन स्वरूप कालिका तामाङ नारी प्रतिभा पुरस्कार मातृभाषामा ‘पेङ दोर्जे’ नाट्य पुस्तक प्रकाशित गरेकाअनुसार शान्ति वाइबा तामाङलाई प्रदान  गरिएको हो। उनलाई ५ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरिएको हो ।

पुरस्कारहरू उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विशेष समारोहमार्फत वितरण गरे। तामाङ पत्रकार संघको स्थापना २०६१ मंसिर २१ मा भएको हो र संघले प्रत्येक वर्ष यही दिन स्थापना दिवस मनाउँदै आएको छ।

 

SHARE