स्पनिस ला लिगाको पहिलो एल क्यासिकोमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले चीरप्रतिद्वन्द्वी रियल मड्रिडलाई उसकै मैदानमा ४–० ले हराएको हो ।
बार्सिलोनाको जितका लागि रोबर्ट लेवान्दोस्कीले २ गोल गरे भने लामिन यामल र राफिन्हाले १–१ गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
५४औँ मिनेटमा लेवान्दोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए लगतै ५६औँ मिनेटमा उनले नै गोल गरी अग्रता दोब्बर बनाए । यामलले ७७औँ र राफिन्हाले ८४औँ मिनेटमा गोल गर्दा रियल मड्रिड निरीह बन्यो ।
यसै सिजन रियल मड्रिडमा भित्रिएका स्टार फर्वाड केलियन एम्बाप्पेसहित मैदानमा उत्रिएको रियलले नमिठो हार व्यहोरेको छ ।
खेललाई बार्सिलोनाले अधिकांश समय आफ्नो नियन्त्रणमा राखेको थियो । जितपछि लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल मड्रिडसँग ६ अंकको अग्रता बनाउन सफल भएको छ । बार्सिलोनाको ११ खेलबाट ३० अंक छ । समान खेलबाट २४ अंक बनाएको रियल मड्रिड दोस्रो स्थानमा छ ।










