महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् ।अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्तापङ्क्तिलाई निर्देशन दिएका हुन् ।

जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने बताउँदै उनले भनेका छन्, ‘हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ । तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान सङ्गठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ ।’

बदलिएको परिस्थितिमा पार्टी अर्को गठबन्धनमा रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘मन्त्रीहरूबाट परिणाममुखी काम होउन्, सरकारले राम्रो काम गरोस् ।’पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्न लागेको महाधिवेशनको तयारी सुरु गरेको छ । अध्यक्ष नेपालको नेतृत्वमा १० औं महाधिवेशन मूल व्यवस्थापन कमिटीका साथै विभिन्न १३ वटा कमिटी गठन गरिएको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई मूल व्यवस्थापन कमिटीको सदस्यमा राखिएको छ ।

पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषय, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरी ती प्रतिवेदनका आधारमा एउटै दस्तावेज तयार गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । पार्टीभित्रको सबै वैचारिक पक्षलाई समेटेर महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत गरिने जनाइएको छ ।

SHARE