नेपाली राष्ट्रिय टिममा एकै खेलमा चार जना खेलाडीको डेब्यू

नेपाली राष्ट्रिय फुटबल टिममा बिहीबार राति चार जना खेलाडीले डेब्यू गरेका छन्।फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणअन्तर्गत बहराइविरूद्धको खेलमा नेपाली टिमबाट डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई तथा फरवार्डद्वय समिर तामाङ र सञ्जीव विष्टले डेब्यू गरेका हुन्।

चार खेलाडीले डेब्यू गरेको खेलमा नेपाल भने ५-० गोलले पराजित भयो। पछिल्लो समय नेपाली राष्ट्रिय टिमका खेलाडीहरु अस्ट्रेलिया पलायन भइरहदा युवा खेलाडीले डेब्यूको मौका पाइरहेका छन्। अभिषेकले पहिलो रजाइमा खेल्दै राष्ट्रिय टिममा डेब्यू गरे। यस्तै सविन्द्र श्रेष्ठको स्थानमा ४६ मिनेटमा सौभाग्य मैदान  प्रवेश गरेका थिए।

७९ मिनेटमा हिसुब थपलियाको स्थानमा मैदान छिर्दै सिमरले राष्ट्रिय टिममा डेब्यू गरे। तर उनी धैरेबेर मैदानमा खेल्न पाएनन्। उनको स्थानमा ८८ मिनेटमा सञ्जीव विष्ट मैदान प्रवेश गर्दा विष्टले राष्ट्रिय टिमका लागि पहिलो खेल खेले। छनोटमा नेपाल लगातार तीन खेलमा पराजित भइसकेको छ। अब मंगलबार बहराइनमै दोस्रो लेग खेल्नेछ।

समूह ‘एच’ मा रहेको  नेपाल पहिलो खेलमा युएईसँग ४-० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो।पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो।चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।

SHARE