तनहुँमा बस दुर्घटना हुँदा छ चिनिया नागरिक घाइते

पृथ्वी राजमार्ग पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा शनिवार बिहान ६:२५ बजे पर्यटक बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाइते भएका छन् ।पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नं. को पर्यटक बस सडकको दायाँ साइडमा पल्टिँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

खाँडका अनुसार दुर्घटनामा बसमा सवार २६ मध्ये सो सङ्ख्यामा घाइते भएका हुन् ।घाइते हुनेहरूमा ५० बर्यीय सुन लि, ५७ बर्यीया हुक्सिया लि, ६२ बर्यीय वाङ वि डोङ, ६७ बर्यीय कियो मेङ, ६८ बर्यीय छुचेङ र ७० बर्यीय लियो या छिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते सबैको शुक्ल गण्डकी नगरपालिकाको बेल चौतारा स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको र दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रनाउ खाँडले जानकारी दिनुभयो । चालकलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

SHARE