त्रिविमा संस्थागत प्रणाली विकास हुन नसकेको गुनासो, प्रशासनीक थिङ्क ट्याङ्क बनाउन कर्मचारी एकताको खाँचो

त्रिवि समन्वय महाशाखाका प्रमुख दीपक तिवारीले त्रिविमा संस्थागत प्रणाली विकास हुन नसकेको बताउनु भएको छ । उहाँले त्रिविको प्रशासनीक थिङ्क ट्याङ्क बनाउन कर्मचारीमाझ एकताको खाँचो रहेको औंल्याउनु भयो ।
२०७३ सालमा प्रवेश गरेको अधिकृत समूह कार्य दक्षताको कसीमा विश्वविद्यालयको प्रशासनीक ज्ञान केन्द्रको रुपमा स्थापित भएको तिवारीले बताउनु भयो । त्रिवि अधिकृत समूह २०७३ ले आज नवौं सेवा प्रवेश वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अनुभव आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै तिवारीले सो कुरा बताउनु भएको हो ।
त्रिविमा सरुवाको संस्थागत सिस्टम नभएकोले कर्मचारीमाझ कहिलेकाहिँ समस्या आउने गरेको बताउनु हुँदै प्रमुख अतिथि तिवारीले त्रिवि नियममा भएको सरुवा प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विश्वविद्यालयमा कर्मचारीतन्त्र महत्वपूर्ण अङ्ग भएकोले मानवीय स्रोत व्यवस्थापनमा विश्वविद्यालयले पर्याप्त लगानी गर्दै व्यवस्थित गर्नुपर्ने पनि उहाँले बताउनु भयो । साथै उहाँले सरुवा प्रक्रियालाई प्रणालीमा लैजान सके फोन र भनसुनले ब्रेक गर्न नसक्ने धारणा समेत व्यक्त गर्नुभयो । अहिले विश्वविद्यालयको कर्मचारी अभावको मुख्य कारण कर्मचारी व्यवस्थापन हुन नसक्नु रहेको औंल्याउँदै उहाँले दरबन्दी पदपूर्ति गर्न सेवा आयोगले तत्काल विज्ञापन गरी वृत्ति विकासको अवसर दिलाउनु पर्ने माग पनि गर्नुभयो ।
त्रिवि कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष छत्र कार्कीले प्रतिष्पर्धाबाट आएका पदाधिकारीको समेत भाषण, व्यवहार र कार्यशैली कर्मचारीमैत्री नदेखिएको बताउनु भयो । नयाँ पदाधिकारीहरुले पनि विभिन्न खालका समितिहरु निर्माण गरी सरोकारवाला समक्ष लोकप्रिय हुन खोज्ने तर वास्तविक रुपमा सरोकारवालाहरुलाई अल्मल्याउने र आफुहरुको पदावधिको समय कटाउने प्रवृत्तिलाई निरन्तरता दिएको उहाँले आरोप लगाउनु भयो । त्रिविमा कार्यरत कर्मचारीहरुको चिन्तन, व्यवहार र हालसम्मको अनुभवले विविध खाले समस्याको बोध भएको भन्दै परम्परागत रुपमा जकडिएको मानसिकता भएसम्म संस्थाभित्र सुधारको प्रयास जटिल रहेको धारणा राख्नुभयो । कर्मचारी संघले कर्मचारीका समस्याहरुबारे उठान गरिरहेको बताउँदै उहाँले कर्मचारीको वृत्ति विकासका लागि आशावादी हुँदै संघले सक्दो रुपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी विशिष्ट अतिथि त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले कर्मचारी प्रशासन विश्वविद्यालयको स्थायी सरकार भएकोले संस्थाप्रतिको मोह राखेर काम गर्न सक्नुपर्ने बताउनु भयो । नयाँ पुस्ताले आ–आफ्नो कार्यालयमा दक्षतापूर्ण कार्य गरिरहनु भएको उल्लेख गर्नुहुँदै भोलिको प्रतिष्पर्धामा सबै उच्च गुणस्तरको जनशक्तिले अवसर पाउने अवस्था आफुले देखेको बताउनु भयो । उहाँले काम र व्यवहारले मानिसको स्वरुप निर्धारण हुने बताउनु हुँदै त्रिविमा २०७३ सालमा सेवा प्रवेश गरेका अधिकृत समूहका सबै कर्मचारीहरुको खुवी र क्षमता देखेर अघिल्लो पुस्ताले सकारात्मक ईष्र्या गर्ने गरेको समेत बताउनु भयो ।
विशिष्ट अतिथि राष्ट्रिय पुस्तकालयका पुस्तकालय अधिकृत महेश खनालले आफुले करिब डेढ वर्ष त्रिवि सेवामा रहेर नेपाल सरकार अन्तरगत सेवा परिवर्तन गरे पनि सेवा प्रवेश तालिमको आत्मीयताका कारण आफु यहि समूहमा रहेको अनुभुति भइरहने बताउनु भयो । यसैगरी अर्का विशिष्ट अतिथि सेरिडमा कार्यरत उपप्राध्यापक इन्द्रेश ठाकुरले चार वर्ष पदाधिकारी कार्यालयमा बसेर साथीहरुबीच सहकार्य गरेको अनुभव सुनाउनु हुँदै त्रिवि नियममा शिक्षक र कर्मचारीको लागि भनेर गरिएको व्यवस्थामा रहेका विभेदका प्रावधानहरु कर्मचारी संघले पहल गरेर सच्याउनु पर्ने बताउनु भयो । पाँच वर्ष कर्मचारीको भुमिकामा रहेर वृत्ति विकासको प्रयासस्वरुप शिक्षण सेवातर्फ प्रवेश गरे पनि कर्मचारीहरुको हितको लागि आफ्नो तर्फबाट सधैं सकारात्मक पहल र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्रिवि केन्द्रीय पुस्तकालयका पुस्तकालय अधिकृत अनिता भट्टराईले आफुले क्याम्पसको पुस्तकालय र केन्द्रीय पुस्तकालयमा काम गरेको अनुभवले सबै मिलेर थुप्रै सुधार र परिवर्तन गर्न सकिने देखेको बताउनु भयो । यस्तै त्रिवि केन्द्रीय पुस्तकालयका सूचना अधिकारी विजय शर्माले कर्मचारीको वृत्ति विकासलाई संस्थाले अवरोध गर्न नहुने बताउनु हुँदै २०७३ सालको अधिकृत समूहले संस्थामा केहि नयाँँपन दिने गरी नयाँ कार्यशैलीमा काम गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पुल्चोक क्याम्पसका पुस्तकालय अधिकृत गोविन्द विष्टले यो समूहको अहिलेसम्मको इमेज राम्रो रहेकोले यसलाई जोगाउनु पर्ने बताउनु भयो ।
त्यस्तै नेपाल ल क्याम्पसका पुस्तकालय प्रमुख विजयकुमार पोखरेलले जुन ठाउँमा कार्यरत रहे पनि सकारात्मक छाप छोड्न सफल भइरहेको उल्लेख गर्नुहुँदै विश्वविद्यालयमा भइरहेको कर्मचारीको चरम अभावमा अहिले विश्वविद्यालयको प्रशासनीक कार्य २०७३ सालको अधिकृत समूहले धानिरहेको र सिँगो विश्वविद्यालयले यो समूहको क्षमता र सकृयतालाई मुल्याँकन गरेर खुशी व्यक्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले अहिले त्रिवि सुधार सुझाव आयोग बनेको उल्लेख गर्नुहुँदै आयोगको कार्यक्षेत्रमा कर्मचारीहरुको विषयलाई समेट्न कर्मचारी संघमार्फत पहल गर्न सुझाव दिनुभयो ।
पब्लिक युथ क्याम्पसका पुस्तकालय अधिकृत सुदिप ढकालले सूचनाको हकबाट कसैलाई वञ्चित गर्नू नहुने बताउनु भयो । उहाँले घरको सभ्यता शौचालय भएजस्तै क्याम्पसको सभ्यता पुस्तकालय भएकोले सार्बजनिक खरिदमा गुणस्तरीय काम गर्ने इमान्दारिताको प्रतिबद्धता कायम रहेको बताउनु भयो । कर्मचारी काम गर्ने जिम्मेवारीमा हुने हुँदा संस्था बिगार्न नीतिगत तहमा निर्णय गर्नेहरु सक्रिय रहे पनि काम गर्ने तहमा कर्मचारीलाई दोष आउने बताउनु भयो । त्यसैले जिम्मेवारी पाएर नेतृत्वमा पुग्ने कर्मचारी नेता होस् या पदाधिकारी, आफुले कार्यकालको अन्त्यमा मुल्याँकन गरेर मात्र बधाई दिनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
अमृत साइन्स क्याम्पसका पुस्तकालय अधिकृत रमेश निरौलाले संस्थाको काम कारवाहीमा राजनीतिक आग्रह पूर्वाग्रहले काम गर्दा कर्मचारीहरुले नै दुःख भोग्दै आउनु परेको भए पनि समय चक्रमा सबैको पालो आउने र धैर्य गरेर आफ्नो जिम्मेवारीमा अडिग रहन सक्नुपर्ने सिकाई भइरहेको बताउनु भयो ।
कर्मचारी प्रशासन महाशाखाका शाखा अधिकृत भृगुदेवी सापकोटाले हामीले आफुलाई मात्र नसोचेर व्यक्ति होइन, समूहमा सोच्न सक्नु पर्ने बताउनु हुँदै एउटै वातावरणमा प्रशासनीक काम गर्दा राम्रो नराम्रो दुवै पक्ष भेटिएको अनुभव सुनाउनु भयो ।
नेपाल कमर्स क्याम्पसका शाखा अधिकृत सम्झना बख्रेलले नयाँ पुस्ताले सकारात्मक परिवर्तनका लागि प्रयास गरे पनि पुरानो पुस्तालाई स्वीकार गर्न गाह्रो हुने गरेको बताउनु भयो ।
वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयमा कार्यरत शाखा अधिकृत कल्पना पौडेलले कर्मचारीको भुमिका पर्दापछाडिको खेलाडीको जस्तो भएको उल्लेख गर्नुहुँदै २०७३ सालको अधिकृत समूहको छवि सकारात्मक रहेको र सबै सरोकारवालाको नजरमा देखिने गरेको अनुभव बताउनु हुँदै पदाधिकारीको भिजनमा संस्था चल्ने अवस्थामा नेतृत्वको प्रभावकारी भुमिका नहुँदा कर्मचारीहरुमा अन्योल रहेको बताउनु भयो ।
महाराजगञ्ज क्याम्पसमा कार्यरत शाखा अधिकृत रितादेवी निरौलाले कहिले काहिँ नेतृत्वसँग लडाई नै गर्नुपरेको स्मरण गर्दै माथिल्लो निकायबाट हुने व्यक्तिकेन्द्रीत निर्णयले क्याम्पस कार्यालयमा कर्मचारीलाई काम गर्न असहज हुने गरेको बताउनु भयो । अग्रजहरुले अधिकृत मञ्च बनाएर ज्ञान आदानप्रदानमा त्यसलाई प्रयोग गरे हाम्रो समूहलाई पनि भविष्यमा कार्य सम्पादनमा सहज हुने भएकोले अग्रजहरुको नेटवर्कलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनु भयो ।
इन्जिनियरिङ् अध्ययन संस्थान डीनको कार्यालयमा कार्यरत शाखा अधिकृत सुनिता ढुँगेलले कर्मचारीको वृत्ति विकासमा संस्थाले नजरअन्दाज गरिरहेको उल्लेख गर्दै चाँडोभन्दा चाँडो सेवा आयोगबाट वृत्ति विकासको लागि विज्ञापन हुनुपर्ने, अन्यथा दवावका लागि हाम्रो समूहले धर्ना, अनसन जस्ता आन्दोलन गर्नुपर्ने आवश्यता रहेको बताउनु भयो ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा कार्यरत शाखा अधिकृत छलिसरा मगरले सबै साथीहरुले आफ्नो क्षेत्रमा राम्रो गरिरहनु भएको अवस्थामा आगामी दिनमा अझै राम्रो गर्न सकियोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
व्यवस्थापन संकाय डीनको कार्यालयका शाखा अधिकृत विमला घिमिरेले कर्मचारीहरुको कार्यव्यस्ततालाई उचित मुल्याँकन गर्नुपर्ने बताउनु भयो ।
प्राविधिक अधिकृत अमित चौधरीले त्रिवि सेवाको दौरान आफुले केहि तीतो अनुभव भोग्नु परेको उल्लेख गर्नुहुँदै विश्वविद्यालयले प्राविधिक ज्ञान, सीप र क्षमतालाई चिनेर कर्मचारीहरुलाई जिम्मेवारी दिन सक्नु पर्ने बताउनु भयो ।
पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत नोदनाथ त्रितालले यो समूहका सबैले मिलेर विश्वविद्यालयको सुशासन र सूचनाको हकको लागि योगदान गर्नुपर्ने बताउनु भयो ।
त्रिवि सेवा आयोगका लेखा अधिकृत शरदकुमार थापाले सेवा प्रवेश तालिमको माध्यमबाट २०७३ ब्याच संगठित भएकोले यसलाई निरन्तरता दिनुपर्ने र यो समूहमा एक जना साथीलाई अप्ठेरो पर्दा अरुले सामुहिक रुपमा सहयोग गर्नुपर्ने बताउनु भयो ।
व्यवस्थापन संकाय केन्द्रीय विभागका लेखा अधिकृत सनत कुमार दाहालले आफ्नो त्रिवि सेवामा २६ वर्ष अनुभव रहेको सुनाउनु हुँदै सबैभन्दा प्रमुख कुरा नैतिक आचरण रहेको र त्यो विद्यार्थी, शिक्षक र कर्मचारीमा खस्किँदै आएको अवस्था औंल्याउनु हुँदै त्रिविका विभिन्न निकायमा नेतृत्वको लक्ष्यविहिन व्यवहारलाई अन्त्य गरेर बृहत दुरदृष्टि निर्माण गर्न नसकेसम्म कर्मचारीले मात्र विश्वविद्यालयमा परिवर्तन गर्न सम्भव नभएको बताउनु भयो ।
त्रिवि केन्द्रीय कार्यालयमा कार्यरत लेखा अधिकृत उमा पाण्डेले त्रिविमा तलबाट सुधार गर्नुपर्ने सोचमा परिवर्तन गर्दै माथिल्लो निकायबाट नीतिगत रुपमा सुधार गरेर मात्र सुधार सम्भव रहेको बताउनु भयो । उहाँले २०७३ सालको अधिकृत समूह छरिएर रहेको भए पनि एकता रहेको उल्लेख गर्नुहुँदै त्रिवि सेवामा कान्छो समूह रहेको उल्लेख गर्नुहुँदै त्रिविमा कर्मचारी अभावको संक्रमणकालीन अवस्थाको नयाँ पुस्ता भएकोमा गर्व गर्दै जिम्मेवारी निर्वाह गर्दै जानु पर्ने बताउनु भयो । यो पुस्ताले भावि पुस्तालाई समेत ज्ञान हस्तान्तरण गर्दै जान सक्नुपर्ने बताउनु भयो ।
मनोमोहन सेन्टरमा कार्यरत लेखा अधिकृत शोभा सेढाईंले एक्लाएक्लै सुधारको कार्य गर्न गाह्रो हुने हुँदा टिम बनाएर सुधारको पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्रिवि शिक्षाशास्त्र संकाय केन्द्रीय विभागका लेखा अधिकृत कमल दाहालले सामुहिक भेटघाट र अनुभव आदानप्रदानले सबैलाई फाइदा पुग्ने गरेको बताउनु भयो । यस्तै शिक्षाशास्त्र संकाय डीनको कार्यालयका लेखा अधिकृत ध्रुवराज न्यौपानेले कार्यरत संस्था कार्यालयहरुमा आन्तरिक व्यवस्थामा समन्वय जरुरी रहेको बताउनु भयो ।
त्रिवि कर्मचारी संघका केन्द्रीय अध्यक्ष छत्र कार्कीको अध्यक्षता तथा त्रिवि अधिकृत मञ्चका संयोजक एवम् समन्वय महाशाखाका प्रमुख दिपक तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सबै सहभागीहरुलाई त्रिवि केन्द्रीय पुस्तकालयको तर्फबाट पुस्तकालय अधिकृत अनिता भट्टराईले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण शाखा अधिकृत नोदनाथ त्रितालले गर्नुभएको थियो ।

SHARE