शान्ति सेनामाथिको इजरायली आक्रमण निन्दनीय : इयू

दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसंघका शान्ति सेनामाथि इजरायलले गरेको आक्रमण अस्वीकार्य भएको भन्दै युरोपेली संघ (इयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले निन्दा गरेका छन् ।

सोमबार इजरायली सेनाले राष्ट्रसंघका सेना घाइते हुने गरी आक्रमण गरेको भन्दै उनले त्यसको कडा शब्दमा निन्दा गरेका हुन् ।

‘इयूका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्’, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भने, ‘संयुक्त राष्ट्रसंघका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ ।’

हालैका दिनहरूमा इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दा कम्तिमा पाँच जना शान्ति सैनिक घाइते भएका छन् ।

इजरायलको सन् १९७८ को लेबनान आक्रमणपछि स्थापना गरिएको विभिन्न राष्ट्रियताका करिब नौ हजार पाँच सय सैनिकहरूको मिसन युनिफिलले इजरायली सेनालाई आफ्ना ठाउँहरूमा ‘जानीजानी’ आक्रमण गरेको आरोप लगाएको छ । ‘धेरै युरोपेली सदस्य यस मिसनमा सहभागी छन्’, बोरेलले भने, ‘उनीहरूको काम धेरै महत्त्वपूर्ण छ ।’

SHARE