माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल

महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि गोलको वर्षा गरेको छ । नेपालले माल्दिभ्समाथि ११–० गोल अन्तरको जित निकालेको हो ।

दशरथ रंगशालामा सोमबार भएको खेलमा नेपालका लागि रेखा पौडेलले ५ गोल गरिन् । खेलको सातौं मिनेटमा नेपालले प्रिती राईको गोलमा अग्रता लिएको थियो । सविता राना मगरले दिएको छोटो कर्नरमा प्रितीले गरेको फितलो प्रहार माल्दिभ्सका २ डिफेन्डर र गोलरक्षकलाई छिचोल्दै निअर पोस्टबाट गोल भएको थियो ।

२४ औं मिनेटमा नेपालको गोलमा गोलरक्षक अमिनाथ लिजा बाधक बनिन् । रेखाको क्रसमा रश्मी कुमारी घिसिङले ६ यार्ड बक्स भित्रबाट गरेको शक्तिशाली हेडर अमिनाथले विफल परिन् ।

२९ औं मिनेटमा सविताले नेपालको अग्रता दोब्बर पारिन् । पेनाल्टी क्षेत्रबाहिर सरुको पासलाई नियन्त्रणमा लिँदै सविताले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

३२ औं मिनेटमा रेखाले नेपाललाई ३(० ले अघि बढाइन् । रश्मीले दिएको पासलाई रेखाले गोललाइनको ठिक अघिबाट छातीले गोल गरिन् । लगत्तै रश्मीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार दुई प्रहारले पोस्टको दिशा लिएन ।

३८ औं मिनेटमा विमला चौधरीले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार क्रसबारमा लागेर बाहिरियो । ४२ औं मिनेटमा रेखाले अर्को गोल थपिन् । सविताको पासमा रेखाले पहिलो टचमै गरेको प्रहार गोलरक्षक अमिनाथले बचाउन खोजेपनि उनको हातमा लाग्दै गोल भएको थियो ।

दोस्रो हाफको दुई मिनेट नबित्दै रेखाले ह्याट्रिक पूरा गरिन् । ६ यार्ड बक्सभित्र रेखाकै पास डिफेन्डरलाई लागेर फर्केपछि उनले रिबाउन्डलाई गोलमा परिणत गरिन् ।

६० औं मिनेटमा सविताले अर्को गोल थप्ने अवसर सदुपयोग गर्न सकिनन् । पेनाल्टी क्षेत्र बाहिरबाट प्रितीको प्रहार गोलरक्षक अमिनाथले रोकेपछि आएको रिबाउन्डलाई सविताले पोस्टको दिशा दिन सकिनन् ।

६३ औं मिनेटमा रेखाले व्यक्तिगत चौथो गोल गरिन् । सरुले दिएको पासलाई रेखाले नियन्त्रणमा लिँदै वन भर्सेस वनमा सुन्दर फिनिस गरिन् । लगत्तै प्रितीले नेपालको लागि सातौं गोल थपिन् । पेनाल्टी क्षेत्र बाहिर रेखाले दिएको पासलाई प्रितीले पहिलो टचमै टप कर्नरमा फिनिस गरिन् ।

नेपालले त्यसपछि तीन परिवर्तन गर्दै अनिता केसी, अनिता बस्नेत र सजनी थोकरलाई मैदान छिराएको थियो । अनिता केसीले मैदान छिरेको पहिलो टचमै नेपालको आठौं गोल गरिन् । अनिता बस्नेतको पास डिफेन्डरलाई लाग्दै आएपछि केसीले पेनाल्टी क्षेत्र भित्र सहजै गोल गरिन् ।

७८ औं मिनेटमा रेखाले व्यक्तिगत पाँचौ र समग्रमा नवौं गोल गरिन् । अनिता केसीको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट उनले गोल गरिन् । ८६ औं मिनेटमा नेपालले पेनाल्टीको अवसर पायो । प्रितीले पेनाल्टीलाई गोलमा परिणत गर्दै १०(० को अग्रता दिलाइन् ।

त्यसको एक मिनेट नबित्दै अमिषा कार्कीले अर्को गोल गरिन् । सविताको पास डिफेन्डरलाई लागेर फर्केपछि अमिशाले गोलरक्षकलाई बिट गर्न सफल रहिन् ।

योसँगै नेपाल समूहको शीर्षस्थानमा उक्लिएको छ ।

नेपालको २ खेलमा ४ अंक छ । भुटानको समान ४ अंक भएपनि गोल अन्तरमा नेपाल अघि छ । श्रीलंकाको ३ अंक हुँदा माल्दिभ्सले खाता खोलेको छैन । अब अन्तिम खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा प्रवेश गर्नेछ ।

समूह विजेता बन्न भने भुटानको नतिजा पर्खनुपर्नेछ ।

SHARE