‘समाचार तथ्यहीन र अप्रमाणित’ भन्दै जनआस्थालाई जगदिश खरेलले दिए स्पष्टीकरण

काठमाडौं। जगदिश खरेलले आफ्नाबारे प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै एक सार्वजनिक व्यक्तित्वले उक्त सामग्री तथ्यहीन, अप्रमाणित र अव्यावसायिक रहेको बताएका छन्। उनले सामाजिक संञ्जाल मार्फत सम्बोधन गर्दै लेखेको स्पष्टीकरणमा समाचारको स्रोत विश्वसनीय नभएको र रिपोर्टिङ परिपक्व नदेखिएको उल्लेख गरेका छन्।

 उनले रातो पासपोर्टसम्बन्धी विषयमा स्पष्ट पार्दै आफू साधारण पासपोर्टमार्फत भिसा आवेदन गरेर सभामुखसँग बिदा माग्न गएको बताएका छन्। ‘रातो पासपोर्ट माग्न गएको होइन,’ उनले स्पष्ट पारेका छन्।

त्यसैगरी, दक्षिण कोरिया भ्रमणका विषयमा गरिएको दाबीलाई पनि उनले पूर्णरूपमा असत्य बताएका छन्। मन्त्री हुँदा ११औँ ग्लोबल आईसीटी लिडरसिप फोरममा सहभागी हुन गएको बेला  एनसेलका सतिशलाल आचार्यसँग भेट भएको भन्ने समाचार ‘सत प्रतिशत झुट र कपोलकल्पित’ भएको उनको भनाइ छ।

‘तथ्य र प्रमाणसहितको पत्रकारिता गर्नुपर्छ,’ उनले भनेका छन्, ‘कोही पनि भ्रममा नपरून्, सत्य ढिलोचाँडो बाहिर आउँछ।’

सम्बन्धित सबैलाई लक्षित गर्दै उनले अन्त्यमा लेखेका छन्, ‘चुप रहनु, सुन्नु र सहनु भनेको स्वीकार्नु होइन।’