जारी लिग २ क्रिकेट अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको छ । नेपालले २८७ रनको बलियो लक्ष्य जोगाउन नसक्दा पराजित हुन पुगेको हो ।
नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको अमेरिको उक्त लक्ष्य २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनर शायन जाहंगिरले १०४ रन बनाए । उनले ९७ रनको सामना गर्दै ४ छक्का र १२ चौका हिर्काए । त्यस्तै कप्तान मोनांक पटेलले ६२ तथा हर्मित सिंहले ५७ रन जोडे ।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । उनले ६ ओभर बलिङ गर्दै २३ रन खर्चिए । सोमपाल कामीले २ विकेट लिँदा ललित राजवंशीको नाममा १ विकेट रह्यो ।
यसअघि ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । अनिल साह र आसिफ शेखले ९८ रनको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याउन योगदान गरे । ओपनर दुवैले अर्धशतक प्रहार गरे ।
अनिल साहले ५६ तथा आसिफले ५२ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाए । उनी शतक बनाउनबाट ४ रनले चुके । त्यस्तै आरिफ शेखले ३७ रन बनाए । तर त्यसपछिका आएका ब्याटरले भने राम्रो रन बटुल्न सकेनन् ।
अमेरिकाका लागि नोस्थुस केन्जिगेले ४ तथा सौरभ नेत्रवाल्करले २ विकेट हात पारे ।
लिग २ मा कमजोर नतिजा निकालिरहेको नेपालले अब अर्को खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।