नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर पड्किँदा दर्जनौँको मृत्यु भएको छ । बीबीसीका अनुसार शनिबार इन्धन लिन पुगेका ७७ जनाको मृत्यु भएको हो ।
यद्यपि द गार्जियनले भने ७० जनाको मृत्यु भएको बताएको छ ।
नाइजेरियाको उत्तरी केन्द्र सुलेजा क्षेत्रमा ट्याङ्करको इन्धन पोखिएको थियो । पोखिएको इन्धन बटुल्ने क्रममा विष्फोट भएको थियो । घटना स्थलमा दर्जनौँको मृत्यु भएको थियो । साथै २५ जना घाइते भेटिएको उद्दारकर्ताहरूको भनाइ छ ।
नाइजेरियामा यस्ता घटना धेरै भइरहेको बताइएको छ । सवारी साधनको मर्मत राम्ररी नगर्ने तथा बाटोको खराब अवस्थाका कारण यस्ता घटना दिनानुदिन भइरहेको समाचारमा भनिएको छ ।
घाइतेहरूको उपचार नजिकैका अस्पतालहरूमा भइरहेको बताइएको छ ।
दुई साताअघि पनि इन्धन बोकेको ट्याङ्क् विष्फोट भएको थियो । सो विष्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको थियो ।
त्यस्तै अक्टोबरमा पोखिएको पेट्रोल सङ्कलन गर्ने क्रममा १५३ जनाको मृत्यु भएको थियो ।
नाइजेरियामा पछिल्लो १८ महिनामा ४०० प्रतिशतले इन्धनको मूल्य वृद्धि भएको छ । राष्ट्रपति बोला टिनुबुले पहिलेदेखि इन्धनमा दिइँदै आइएको अनुदान कटौती गर्ने निर्णय गरेसँगै इन्धनको मूल्यले आकाश छोएको हो ।
पछिल्लो समयको निर्णयसँगै लाखौँ मानिस गरिबीमा धकेलिएको बताइन्छ । यद्यपि सरकारले भने मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने नीतिहरूमा परिवर्तन गरिएको बताउँदै आएको छ ।