सातै प्रदेशमा नयाँ सरकार गठन हुँदै

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सातै प्रदेशमा नयाँ सरकार गठन हुने बताएका छन् ।शनिबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको गुल्मीमा उद्घाटन गर्दै उनले सबै प्रदेशमा एमाले–माओवादी गठबन्धनको सरकार बन्ने बताएका हुन् ।

अहिले आर्थिक र राजनीतिक संकटको समयमा नयाँ गठबन्धन बनेकाले विकासको अभियान अगाडि बढाएर सबै संकट हटाउनुपर्ने उनको भनाइ छ ।देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक र साँस्कृतिक अराजकता हटाउने र देशलाई समृद्धितर्फ उन्मुख गराउने नेकपा एमालेको योजना अब पूरा हुने उनकोे दाबी छ ।

उनले एमालेलाई बहुमत ल्याएर एकल राष्ट्रिय सरकार बनाउने गरी मिसन २०८४ सफल पार्न कार्यकर्ताहरुलाई आग्रह गरे ।गुल्मीमा सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनका लुम्बिनी प्रदेशका ११ जिल्लाका प्रतिनिधि गुल्मी आएका छन् ।अधिवेशनमा करिब १ सय ६० प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सकिनेछ ।

SHARE