काठमाडौं । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको संस्कृति सम्बन्धी ज्येष्ठ निकाय सांस्कृतिक संस्थानमा जीवनभर योगदान पुर्याएका वरिष्ठ कलाकार श्री नरसिंह लाल श्रेष्ठलाई अनिवार्य अवकाशप्राप्ति पश्चात सम्मानपूर्वक बिदाई गरिएको छ ।
सांगीतिक क्षेत्रमा वाद्यवादन अधिकृत छैटौँ तहको हैसियतमा सांस्कृतिक संस्थानलाई आफ्नो सिर्जनशील कला, धैर्यता, निष्ठा र कर्तव्यपरायणताका साथ अगाडि बढाउन अहम योगदान पुर्याएका श्रेष्ठले वि.सं. २०८२ भदौ ९ गतेदेखि अनिवार्य अवकाशप्राप्त गर्नुभएको हो ।
सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा आयोजित बिदाई कार्यक्रममा महाप्रबन्धक किरण बाबु पुनले श्रेष्ठको योगदानलाई अतुलनीय भन्दै उच्च सम्मान व्यक्त गरे । उनले भने,
“श्रेष्ठज्यू अत्यन्तै शालीन, भद्र, मृदुभाषी एवम् समग्र संस्कृतिले सम्पन्न व्यक्तित्व हुनुहुन्छ । उहाँले सिर्जनशील कलाको माध्यमबाट संस्थानलाई जे–जस्तो उचाइमा पुर्याउनुभयो, त्यो सधैं स्मरणीय रहनेछ ।”
“उहाँको जीवनशैली र कार्यशैली अरूका लागि उदाहरणीय बनेको छ । धैर्यता, निष्पापपन, सहनशीलता, मानवीयता, संस्कार, अनुशासन र आचरणजस्ता गुणहरू उहाँबाट सिक्न र ग्रहण गर्न सकिन्छ ।”
कार्यक्रममा संस्थानका कर्मचारी र कलाकारहरूले श्रेष्ठसँग बिताएका अविस्मरणीय क्षणहरूलाई स्मरण गर्दै उहाँप्रति हार्दिक कृतज्ञता प्रकट गरेका थिए । बिदाई कार्यक्रम भावुक र सम्मानजनक वातावरणमा सम्पन्न भएको थियो ।
सांस्कृतिक संस्थानको तर्फबाट श्रेष्ठलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गरिएको छ । साथै, संस्थान र श्रेष्ठबीचको सांस्कृतिक साइनो सधैं अटुट रहने विश्वास व्यक्त गरिएको छ ।