धुलिखेल । भुम्लु गाउँपालिका का किसानलाई कृषियान्त्रिकीकरण प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदानमा २३५ वटा मिनीटिलर वितरण गरिएको छ। उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्री ले किसानको मागका आधारमा मिनीटिलर वितरण गरिएको जानकारी दिए। ‘कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गरी कम लगानीमा बढी प्रतिफल हासिल गर्ने उद्देश्यअनुसार उपकरण वितरण गरिएको हो,’ उनले भने।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल ले यस कार्यक्रमले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार आगामी दिनमा अन्य कृषि औजार पनि अनुदानमा वितरण गर्ने योजना छ।
परम्परागत रूपमा खेती गर्दै आएका किसानले अनुदानमा उपकरण पाएपछि उत्साह व्यक्त गरेका छन्। भुम्लु–९ का किसान भोलानाथ पराजुलीले यसअघि अरुको सहयोगमा खेती गर्नुपरेको बताउँदै अब मिनीटिलर पाएपछि काम सहज हुने बताए।
त्यस्तै, सोही वडाका किसान भिमानन्द पराजुलीले मिनीटिलर प्रयोगले खेतीपाती सजिलो हुने र उत्पादन वृद्धि हुने अपेक्षा व्यक्त गरे।









