काठमाडौंको थलीमा बुबाद्वारा छोरा र बुहारीमाथि खुकुरी प्रहार

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा एक बुबाले आफ्ना छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार बुधबार बिहान करिब साढे ७ बजे ५३ वर्षीय विष्णु उप्रेतीले आफ्ना ३२ वर्षीय छोरा रूबिस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन्।

रूबिस र मनिता हालसालै अमेरिकाबाट दसैं मनाउन काठमाडौं आएका थिए। बिहान घरायसी विवादका क्रममा बुबा विष्णुले छोरा र बुहारीमाथि आक्रोशित हुँदै खुकुरी प्रहार गरेको बताइएको छ।

घटनामा छोरा रूबिसको पाखुरा र खुट्टा, र बुहारी मनिताको औंलामा चोट लागेको छ। दुबै घाइतेलाई ग्राण्डी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार, छोराले आफ्ना कुरा नटेरेको निहुँमा विष्णुले यस्तो आक्रमण गरेका हुन्।

घटनापछि प्रहरी टोलीले आरोपी बुबा विष्णु उप्रेतीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ।

SHARE