काठमाडौं । तामाङ समुदायको भाषा, कला, संस्कृति, इतिहास तथा विशिष्ट व्यक्तित्वहरूको जीवनभोगाइलाई अभिलेखीकरण गर्ने उद्देश्यले प्रकाशित ‘म्हेन्दोलाफोले : सय व्यक्तित्व, सय कथा’ पुस्तक सोमबार काठमाडौंको राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान), जमलमा लोकार्पण गरिएको छ।
म्हेन्दोलाफोले फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा तामाङ समुदायका अग्रज व्यक्तित्व, राजनीतिज्ञ, साहित्यकार, लेखक, सञ्चारकर्मी, कलाकार, शिक्षाविद्, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पुस्तकमा समावेश एक सय विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा नेपाल तामाङ घेदुङका सचिव हिरालाल दोङले गरेका थिए। फाउण्डेशनका सदस्य कोमल लामाले स्वागत मन्तव्य राख्दै ‘म्हेन्दोलाफोले’ अभियानको उद्देश्य र पुस्तकले भाषा, कला, संस्कृति तथा इतिहास संरक्षणमा पुर्याउने योगदानबारे प्रकाश पारे। पुस्तकका सम्पादक तथा संवाददाता प्रतिक तामाङ ङ्यासुरले ‘म्हेन्दोलाफोले’ पोडकास्टमा भएका संवादहरू समयसँगै हराउने सामग्री नभई समाजको जीवित इतिहास भएकाले तिनलाई पुस्तकका रूपमा अभिलेखीकरण गर्ने अवधारणाबाट यो कृति तयार गरिएको बताए।
उनले प्रत्येक व्यक्तित्वको जीवनभोगाइ, संघर्ष, अनुभव र विचारलाई पुस्तौँसम्म सुरक्षित राख्न सकिए समुदायका लागि अमूल्य सम्पत्ति बन्ने धारणा व्यक्त गरे। फाउण्डेशनका अध्यक्ष सुनिल लामाले ‘म्हेन्दोलाफोले’ अभियान टेलिभिजन कार्यक्रमबाट सुरु भएर पोडकास्ट, फाउण्डेशन र पुस्तकसम्म आइपुगेको बताए। उनका अनुसार पुस्तक सय अन्तर्वार्ताको सङ्ग्रह मात्र नभई समाजका विशिष्ट व्यक्तित्वहरूको अनुभव, संघर्ष, विचार र योगदानलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने ऐतिहासिक दस्तावेज हो। उनले पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम फाउण्डेशनमार्फत सामाजिक, शैक्षिक तथा सांस्कृतिक सेवामूलक कार्य, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शिक्षामा सहयोग, ‘तामाङ डाटाबेस’ निर्माण तथा तामाङ भाषा, कला, संस्कृति र इतिहासको संरक्षण एवं अभिलेखीकरणमा खर्च गरिने जानकारी दिए।
लेखक तथा संस्कृतिकर्मी रबिन्द्र तामाङले पोडकास्टमा सहभागी हुने व्यक्तित्वहरूले आफ्ना जीवनका यथार्थ अनुभव निसंकोच रूपमा प्रस्तुत गर्नुपर्ने बताए। भविष्यमा यस्ता संवाद पुस्तकका रूपमा पनि अभिलेखीकरण हुने भएकाले सत्य, मौलिकता र जिम्मेवार अभिव्यक्तिको महत्व बढेको उनको भनाइ थियो। मानवशास्त्री डा. मुक्त सिं लामाले यस्ता संवादलाई पुस्तकका रूपमा दस्तावेजीकरण गर्नु दूरदर्शी र समयसापेक्ष काम भएको उल्लेख गर्दै यसले भावी पुस्तालाई अध्ययन, अनुसन्धान र प्रेरणाको महत्वपूर्ण आधार उपलब्ध गराउने विश्वास व्यक्त गरे।
नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष तथा सञ्चारकर्मी सञ्चु ब्लोनले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको जीवनकथा र अनुभवलाई एउटै कृतिमा समेट्नु समुदायका लागि महत्वपूर्ण अभिलेखीकरण भएको बताए। उनका अनुसार यसले भविष्यका अनुसन्धानकर्ता, विद्यार्थी तथा नयाँ पुस्ताका लागि सन्दर्भ सामग्रीको काम गर्नेछ।
‘म्हेन्दोलाफोले : सय व्यक्तित्व, सय कथा’ पुस्तक ‘म्हेन्दोलाफोले’ पोडकास्टका पहिलो एक सय भागमा सहभागी भएका व्यक्तित्वसँग भएका संवादहरूको अभिलेखीकरण हो। फाउण्डेशनले आगामी दिनमा पोडकास्टका १०१ देखि २०० भागसम्मका संवादलाई पनि पुस्तकका रूपमा प्रकाशित गर्दै अभियानलाई निरन्तरता दिने जनाएको छ।









