जन्तेढुङ्गा गाउँपालिका वडा नं. ५, घोर्ले, खोटाङका श्यामप्रसाद राई केही वर्षयता पुर्ख्यौली जग्गामा सुन्तला रोपेर लाखौँ आम्दानी गरिरहेका छन् । ‘मिहिनेत गरे विदेश जानु पर्दैन’ भन्ने उनी बिहान उठेदेखि बेलुकीसम्म सुन्तलासँगै परम्परागत रूपमा पालिएका चौपायाको हेरचाह गर्छन् । उनले गाई, गोरु र बाख्रा पालेका छन् ।
गाई चौपायाको मल सुन्तलाको लागि उत्तम हुने उनी बताउँछन् । ‘सबभन्दा राम्रो मल यही गाईभैँसीको हुन्छ’, उनी भन्छन्, ‘बारीको डिलमा सुन्तला, बीचमा दुई–चार रात वस्तु बाँधेपछि मल छरेर पल्टाइदिनुपर्छ (माटोले मल पुर्ने गरी) । सुन्तला गज्जब फल्छ ।’
उनै राईसँग खुल्लापत्रले उनकै सुन्तला बगैँचा पुगेर कुराकानी गरेको छ । सोही कुराकानीको अंश यहाँ उनकै शब्दमा प्रस्तुत गरिएको छ :
हाम्रो घोर्ले गाउँमा हाम्रा बाजे–सुन्तुम (पुर्खा)हरूले सुन्तला रोप्नुभएको हो । यहाँ घर वरपर रहेका सुन्तलाका बोट तिनै बाजे–सुन्तुमहरूले रोप्नुभएको हो । यहाँ पाँच–छ पुस्ते सुन्तला छन् ।
केही वर्षअघिसम्म यहाँ गाडीको सुविधा थिएन । सुविधा नहुँदा मान्छेले बोकेर बजारसम्म लानुपर्थ्यो । बजार भनेको हाम्रो उदयपुरको बेल्टार हो । घोर्ले गाउँ वरपरका ठेकदारहरू आउनुहुन्थ्यो । बगैँचा मोलेर ढाकरमा सुन्तला लानुहुन्थ्यो । त्यसबेला यो घरसँगै जोडिएको बगानबाट पहिलोपटक बेच्दा १७ हजार रुपैयाँ आम्दानी गरेको थिएँ । यो मतलब सबभन्दा सुरुमा मैले बगानको सुन्तला ठेकदारलाई दिँदा त्यतिमा बेचेको थिएँ ।
गाडी आएपछि सजिलो
२०६२/०६३ पछि गाउँगाउँमा गाडी बाटो पुर्याउने लहर चल्यो । विशेषगरी २०६६ बाट सुरु भयो क्यार ! त्यसपछि बिस्तारै हाम्रो गाउँमा पनि गाडी आउने भयो । साना गाडीहरू आउँछन् । बोलेरोहरू । त्यसपछि चाहिँ सुन्तलाले भाउ बिस्तारै पाउन थालेको छ । गाडीले सुन्तला लान थालेपछि चाहिँ सुरुवातमा डेढ लाखमा सुन्तला बेचेँ । त्यसरी वार्षिक डेढ लाख आम्दानी सुन्तलाले दिन थालेपछि ‘गर्दा हुने रै’छ’ भन्ने बुझियो । त्यसपछि चाहिँ मलजल गर्न थालियो । स्याहार गर्न थालियो । त्यसरी मलजल अनि हेरचाह गर्न थालेपछि सुन्तला पनि राम्रो हुँदै गयो । त्यसपछि २ लाख, अढाई लाख, हुँदै गत २०८० सालमा ५ लाख २० हजारमा बगानको सुन्तला बिक्री गरेको थिएँ । योपटक चाहिँ घट्ने सम्भावना छ ।
असिना पर्यो, पानी अलि मिलेन त्यसैले योपटक उत्पादन घट्ने देखिएको छ । सुन्तलामा असिनाले कुटेपछि दाग लागेको छ । यसले गर्दा यो साल ४ लाख ८४ हजारमा मात्र बोलकबोल बिक्री गरिसकेको छु ।
सुन्तला बगानमै बिक्री
हाम्रो सुन्तला किन्न ठेकदारसापहरू बगानमा आउनुहुन्छ । उहाँहरूले सुन्तला बोटमै अडकलेर दाम लगाउनुहुन्छ, र टिपेर लानुहुन्छ । कतिपय चाहिँ आउनुहुन्छ । टिप्नुहुन्छ र ग्रेडिङ ‘ए’, ‘बी’ र ‘सी’ गरी छुट्याउनुहुन्छ । ग्रेडिङअनुसार सुन्तलाको मूल्य फरक पर्छ । यसपटक ‘ए’ ग्रेडको प्रतिक्रेट एक हजार छ सय रुपैयाँ भनिरहनुभएको छ ठेकदारहरूले । ‘बी’ ग्रेडको एक हजार चार सय ।
गाउँमा खेतीपाती कम
गाडी नआएको बेला सुन्तला बेच्न कठिन थियो । सुन्तला राम्रै फल्थ्यो यहाँ । गाउँभरि फल्थ्यो । अहिले अझ धेरै फल्छ । तर त्योवेला सुन्तला बेच्न ढाकरमा बोकेर बेल्टार पुग्नुपर्थ्यो । गाह्रो थियो । त्यसैले आम्दानी पनि कम हुन्थ्यो । जसले गर्दा अन्नबाली बढी लगाइन्थ्यो । अहिले चाहिँ अन्नबाली कम लगाएर धेरैजसो जग्गामा सुन्तला लगाएका छौँ । अन्नबालीले भन्दा सुन्तलाले धेरै आम्दानी दिएको छ । अहिले एक झाङले नै १५ देखि २० हजारसम्म छिनाउँछ । यस्तो सुन्तलाको बोट मसँग अब लगभग तीन सय पुगिसक्यो । सबै बोट फल्न चाहिँ त थालेको छैन । तर अब कतिपय सुन्तलाको बोटले छिट्टै फल दिन थाल्नेछन् ।
अहिले हाम्रो गाउँभरि सुन्तला छ । प्रत्येक घरले आफ्नो जग्गामा सुन्तला रोपेको छ । अन्नबाली कम लगाउन थालेको छ । हामीलाई फाइदा सुन्तलाबाटै छ । त्यसैले हामी अन्नबालीको ठाउँमा सुन्तला लगाउन थालेका छौँ । सुन्तला बेचेको पैसाले उदयपुर जस्तो तराईबाट धान ल्याउँछौँ । हाम्रो सुन्तला लाने ठेकदारसापहरूले नै धान अर्डर गरेर ल्याइदिनुहुन्छ । यहाँ मिलमा कुटेर खान्छौँ । पहिलेभन्दा अहिले धेरै सजिलो भएको छ ।
घोर्ले गाउँको करिब ६० रोपनी जग्गामा सुन्तला छ । त्यति जग्गामा फलेको सुन्तलाले करिब एक करोड वार्षिक आम्दानी गरिरहेको छ । गत साल अर्थात् ०८० सालमा ८४ लाखको सुन्तला बिक्री भएको थियो । यो साल चाहिँ ७६ लाख जति मात्र होला जस्तो हाम्रो अनुमान छ । असिना र खडेरी परेकाले उत्पादन घटेको छ ।
सुन्तला खेतीका केही टिप्सहरू
सुन्तलाको बिरुवा हाम्रो घोर्लेभन्दा बाहिर लाने हो भने चार–पाँच फिट लामो लैजानु ठिक हुन्छ । यता हामी दुई–अढाई फिटको रोप्दा पनि राम्रै हुन्छ । तर अन्य स्थानमा लैजाँदा बिरुवा मर्न सक्छ वा सप्रिन सक्दैन ।
सुन्तलाको लागि सेपिलो ठाउँ उपयुक्त हुने रहेछ । हाम्रो घोर्ले गाउँ हिमालको साइड पर्छ । माथि डाँडाँ छ । सेपिलो छ । यसले गर्दा सुन्तला निकै राम्रो फलिरहेको छ । फेरि हाम्रो घोर्ले गाउँ समुद्र सतहदेखि १२ सय मिटर अग्लो छ । यो उचाई सुन्तलाको लागि उत्तम रहेछ ।
सुन्तला रोपेको चारदेखि छ वर्ष चाहिँ राम्रैसँग स्याहार गर्नुपर्छ । मलजल गर्नुपर्छ । सिँचाइँ गर्नुपर्छ । पाँच वा छ वर्षपछि सुन्तला फल्न थाल्छ । फल्न थालेपछि चाहिँ त्यति त्यसलाई स्याहार गर्नुपर्दैन । वरपर गाईवस्तु बाँधेर तिनको मल पुर्नलाई खनजोत मात्र गर्दा पनि यहाँ सुन्तला फलिरहेको छ । जति दुःख गर्नुपर्ने हो चारदेखि छ वर्षसम्म गर्नुपर्छ ।
दौरासुरुवाल लाएर आउनेलाई सुन्तला निःशुल्क
म अलि हसौली ठट्यौली पनि गर्ने गर्छु । मैले केही वर्षदेखि भन्दै आएको छु— दौरासुरुवाल लाएर आउनेलाई मेरो सुन्तला बगानमा निःशुल्क । दौरासुरुवाल लाएर आउनुपर्छ । टोपी, स्टकोट जस्ता अरू कपडा लगाउन पाइन्न । दौरासुरुवाल लाएर आउनुपर्छ । आधा घण्टाको लागि पूरै बगानमा सुन्तला टिपेर खान पायो । फोटो खिच्न पायो । भिडियो खिच्न पायो । त्यस्तै महिलाहरूले साडी र चोला लगाएर आउनुपर्छ । अरू लुगा लगाउन पाइन्न । यो अफर म बाँचुन्जेल यहाँ राख्नेछु ।
(प्रस्तुति : सन्तोष निरा (राई))










