काठमाडौं । संगीत सम्राट गोपाल योन्जनको ८२ औं जन्मजयन्तीको अवसरमा नेपाल तामाङ संस्कृती घेदुङले काठमाडौंमा एक विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गोपाल योन्जनले रचना, संगीत र स्वर बद्द गरेका गीत–संगीतहरु नेपाली संगीत जगतका वरिष्ठ बाद्यबादकहरुको साथमा ख्यातिप्राप्त विभिन्न गायक–गायिकाहरुले लाईभ ब्यान्डसहित प्रस्तुत गरेका थिए ।
नेपाल तामाङ संस्कृती घेदुङका संघीय अध्यक्ष छेवाङ तेन्जिङ लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ कलाकार तथा तामाङ जनवादी गीत–संगीतका सर्जक प्राज्ञ मानबहादुर दोङ रहेका थिए ।
कार्यक्रमका अतिथिहरुमा तामाङ चलचित्र निर्देशक संघका अध्यक्ष के.बि. घिसिङ, तामाङ कलाकार संघका पूर्व अध्यक्ष एवं गायक–संगीतकार विश्व दोङ, युथ क्रियसन नेपालका अध्यक्ष रबि लामा, तामाङ चलचित्र संघका केन्द्रीय अध्यक्ष बिनायक दोङ, बागमती प्रदेश अध्यक्ष दावा फिन्जो तामाङ, तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष तिर्थमान बल, गोले तामाङ वंश उत्थान समाजका अध्यक्ष मिन गोले, मम्स नेपालकी अध्यक्ष रञ्जिता ब्लोन, नेपाल तामाङ घेदुङका उपाध्यक्ष सीता गोले र मानबहादुर तामाङ, उपमहासचिव सरोज मोहन लामा लगायत विभिन्न संघ–संस्थाका पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा गीत–संगीतका क्षेत्रमा गोपाल योन्जनले पुर्याएको योगदान तथा उनको व्यक्तित्व र कृतित्वबारे चर्चा गरिएको थियो । साथै, नेपाल तामाङ संस्कृती घेदुङका पूर्व अध्यक्ष दोर्जे गोलेको तेस्रो स्मृति दिवस समेत परेको हुँदा कार्यक्रममा उनको योगदान स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रमकै अवसरमा २०४६ सालदेखि तामाङ भाषाका गीत गाउँदै आएका बरिष्ठ गायक अम्बर नेपालीलाई ‘सांगीतिक सम्मान २०८२’ द्वारा सम्मान गरिएको थियो ।
संगीत सम्राट गोपाल योन्जनको सम्झनामा आयोजना गरिएको यो कार्यक्रम अत्यन्त भव्य र विशिष्ट रहेको सहभागीहरुले बताएका छन् । साथै, यस प्रकारका सांगीतिक कार्यक्रमलाई अझ बृहत् रूपमा आगामी दिनमा निरन्तरता दिनुपर्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न गरिएको थियो ।