अश्लील टिप्पणीप्रति विशाल काफ्ले खत्रीको आपत्ति, झाँक्रीको चरित्रहत्या अस्वीकार्य

काठमाडौं । रामकुमारी झाँक्री माथि सामाजिक सञ्जालमा गरिएका अश्लील, अमानवीय तथा तल्लो स्तरका टिप्पणीप्रति विशाल काफ्ले खत्री ले कडा आपत्ति जनाएका छन्।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य खत्रीले राजनीतिक रूपमा आफूले प्रेरणा लिएको व्यक्तित्वमाथि यस्तो प्रकारको आक्रमण हुनु अत्यन्तै दुःखद र अस्वीकार्य भएको बताएका छन्। उनले भने, “राष्ट्र निर्माण र राष्ट्रियताको पक्षमा जीवन समर्पित गर्दै आएकी, नेपाल सरकारकी पूर्व मन्त्री तथा हाल राष्ट्रिय सभा सदस्यजस्तो सम्मानित नेतृमाथि यसरी सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने प्रयास हुनु निन्दनीय छ।”

खत्रीले यस्ता गतिविधिलाई अभिव्यक्ति स्वतन्त्रताको नाममा गरिने दुरुपयोगको संज्ञा दिँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। “यदि यस्तो योगदान दिएकी नेतृमाथि नै यति अमानवीय व्यवहार हुन्छ भने आम नागरिक र महिलाहरूको सुरक्षा अवस्था कस्तो होला भन्ने गम्भीर प्रश्न उठ्छ,” उनले बताए।

सरकारको ध्यानाकर्षण गराउँदै उनले थपे, “आजको अवस्थामा यस्ता घटनाप्रति राज्य किन मौन छ? दोषीमाथि कडा कारबाही हुनु आवश्यक छ, नत्र यस्ता विकृति झनै बढ्ने खतरा छ।”

झाँक्रीसँग नजिकबाट काम गर्दै आएका युवा नेताका रूपमा चिनिने खत्रीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै भने, “आलोचना गर्नु लोकतन्त्रको आधार हो, तर कसैको सम्मानमाथि प्रहार गर्ने अधिकार कसैलाई छैन।”