प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर हो भनेर प्रश्न सोधेका पत्रकारको पास निलम्बन भएको छ।
सचिवालयले प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै दुई पत्रकारको पास एक महिनाका लागि निलम्बन गरेको हो। गत फागुन ४ गते ती पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका थिए।
सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ।
पत्रकार श्रेष्ठ र ओलीले संसद भवन परिसरभित्र देखाएको व्यवहार र शैलीले संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको देखिएको सचिवालयको भनाइ छ। ती पत्रकारहरूलाई मिडिया सेन्टरसम्म जानका लागि दिइएको पास फिर्ता गर्न सचिवालयले बुधबारसम्मको समय दिएको छ।
किशोरकुमार श्रेष्ठ मोरङ उर्लाबारी वडा नम्बर ६ मा का श्रेष्ठ २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाटै वडा सदस्यको उम्मेदवार थिए।
किशोरकुमार श्रेष्ठले उर्लाबारी वडा नं ६ को वडा सदस्य पदमा ६ सय ३३ मत ल्याएका थिए। निर्वाचन भने १ हजार ९ मत ल्याएर कांग्रेसका बमबहादुर श्रेष्ठले जितेका थिए।
प्रकाश ओली पनि एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको लुम्बिनी प्रदेश कमिटी सदस्य रहेको खुलेको संघीय संसद सचिवालय स्रोतले जानकारी दिएको छ।