काठमाडौँ । आज कार्तिक शुक्ल प्रतिपदाका दिन देशभर विभिन्न सांस्कृतिक कार्यक्रम र शोभायात्रासहित नेपाल सम्वत् ११४६ मनाइँदैछ। नेपाल सम्वत्लाई विशेषतः नेवार समुदायले नयाँ वर्षका रूपमा आत्म–पहिचान र राष्ट्रिय गौरवका साथ मनाउने परम्परा रहिआएको छ।
नेपाल सम्वत्को सुरुवात् विसं ९३७ (ई. सन् ८८०) मा राष्ट्रिय विभूति शंखधर साःख्वाले गरिब जनताको ऋणमोचन गरी गराएका थिए। उनले ऋणमा डुबेका सर्वसाधारणको ऋण तिरेर आर्थिक स्वतन्त्रता प्रदान गरेपछि “नेपाल सम्वत्” सुरु भएको ऐतिहासिक प्रमाणहरूमा उल्लेख पाइन्छ। यस कार्यले नेपालको इतिहासमा सामाजिक न्याय, समानता र लोककल्याणको अनूठो उदाहरण प्रस्तुत गरेको मानिन्छ।
इतिहासविद् डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल सम्वत् लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भएको र पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्का रूपमा प्रचलनमा रहेको थियो। उनले भने, “लिच्छविकालअघि शक सम्वत् चलनमा थियो। नेपाल देशको नामबाट राखिएको भएकाले यो मौलिक सम्वत् हो र नेपालकै पहिचानको प्रतीक हो।”
नेपाल सम्वत् पृथ्वीनारायण शाहको राज्य विस्तारपछि राज्य प्रशासनमा बिस्तारै विसं (विक्रम सम्वत्) ले स्थान लिए पनि काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा लगायतका नेवार बाहुल्य क्षेत्रमा यो परम्परा आज पनि निरन्तर जीवित छ।
राजनीतिक मान्यता र पुनःस्थापना प्रयास
विसं २००७ सालमा प्रजातन्त्र स्थापनासँगै नेपाल सम्वत्लाई पुनः राष्ट्रिय मान्यता दिलाउने अभियान सुरु भएको थियो। यसै ऐतिहासिक मूल्याङ्कनका आधारमा विसं २०५६ सालको नयाँ वर्षका अवसरमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरे। पछि, विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता प्राप्त सम्वत् घोषणा गरेका थिए।
संस्कृति र परम्परा
कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको सुरुवात गर्ने परम्परा अझै काठमाडौं उपत्यकामा जीवित छ। यो परम्परा आर्थिक, धार्मिक र सांस्कृतिक पुनःसुरुवातको प्रतीकका रूपमा लिइन्छ।
नेपाल सम्वत् केवल पात्रो परिवर्तनको पर्व होइन, स्वाभिमान, आत्मनिर्भरता र सामाजिक न्यायका मूल्यहरूको स्मरण हो। शंखधर साःख्वाको परोपकारी कार्य र सम्वतको ऐतिहासिक महत्वले नेपाल सम्वत्लाई केवल नेवार समुदायको होइन, सम्पूर्ण नेपाली समाजको गौरवपूर्ण सम्पदाका रूपमा स्थापित गरेको छ।











