चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा मौरीपालन तथा परागसेचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। चैत २३ देखि २५ गतेसम्म सञ्चालन हुने सम्मेलनमा २५० भन्दा बढी अनुसन्धानकर्ता, विज्ञ तथा व्यावसायिक मौरीपालक किसान सहभागी हुने जनाइएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि संकाय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग र नेपाल मौरीपालक महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा चार विधामा ४२ वटा कार्यपत्र प्रस्तुत गरिनेछ।
सम्मेलनका सदस्य सचिव तथा उपप्राध्यापक डा. केदार देवकोटाका अनुसार मौरीपालन, एपि थेरापी, परागसेचन तथा मौरीसम्बन्धी रोग र किराको व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ। साथै मौरी तथा परागसेचनसम्बन्धी नवीन अनुसन्धान र प्रविधिको आदानप्रदान, मौरीको स्वास्थ्य, संरक्षणका उपाय, तथा मौरीजन्य उत्पादनको गुणस्तर अभिवृद्धि र बजार विस्तारका सम्भावनाबारे छलफल हुनेछ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पुष्करबहादुर पालले सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहकार्य विस्तार गर्दै नीति निर्माण र कार्यान्वयनका लागि वैज्ञानिक आधार तयार पार्न सहयोग गर्ने बताए। उनका अनुसार परागसेचनमा मौरीको करिब ७० प्रतिशत योगदान हुने भएकाले यसको महत्व मह उत्पादनमा मात्रै सीमित नरहेको र संरक्षणमा सबैको ध्यान जान आवश्यक छ।
सम्मेलनमा नेपालसहित भारत, थाइल्याण्ड, चीन, कोरिया, अमेरिका, क्यानडा, ग्रिस, हंगेरी, स्विडेन, एस्टोनिया, बंगलादेश र श्रीलंका लगायतका देशका विज्ञहरूको सहभागिता रहनेछ। कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठका अनुसार मौरीपालन व्यवसायलाई थप मुनाफामुखी बनाउने उपाय, उत्पादन अवस्था तथा अनुसन्धानबारे ज्ञान आदानप्रदान गरिनेछ।
कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले मौरीजन्य उत्पादनको विविधीकरण र मूल्य अभिवृद्धिका लागि सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले जैविक विविधताको संरक्षणसँगै मौरीको संरक्षण पनि सुनिश्चित हुने बताए।
सम्मेलनपछि चैत २६ र २७ गते सहभागीहरूलाई मौरीपालन केन्द्र, अनुसन्धान फार्म तथा चितवनका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइने कार्यक्रम छ।
मौरीपालन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पदम अम्गाईका अनुसार नेपालमा करिब ३५ देखि ४० हजार मौरीपालक किसान छन्, जसमा साना किसानको संख्या बढी छ। नेपालमा १२ देखि १५ प्रकारका मह उत्पादन हुने जानकारी दिँदै उनले मेलिफेरा र सेरना जातका मौरी पालिने बताए। हाल नेपालमा करिब १ लाख ३० हजार गोला मेलिफेरा जातका मौरी रहेको र करिब १२ हजार किसान यस व्यवसायमा आबद्ध छन्।
पछिल्लो समय चरन क्षेत्रको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको व्यवसायीहरूको भनाइ छ। मौरी सामान्यतया डेढदेखि दुई किलोमिटरसम्म चरनका लागि जाने गर्छन्।
सम्मेलनको अवसरमा मह प्रदर्शनी तथा ‘हनी बार’ समेत सञ्चालन गरिनेछ। प्रदर्शनीमा नेपालमा उत्पादन हुने विभिन्न १२ प्रकारका मह राखिनेछ भने ८ वटा स्टलमध्ये तीन वटा विदेशी व्यवसायीका रहनेछन्। ‘हनी बार’ मार्फत स्वदेशी महको स्वाद विदेशी पाहुना तथा उच्च पदस्थ व्यक्तिलाई चखाइने आयोजकले जनाएको छ।









