माओवादीप्रति धेरै युवाहरूको विश्वास रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडाँमा शनिबार करिब सय युवालाई पार्टी प्रवेश गराउँदै उनले युवाहरूको माओवादीमा प्रवेशले युवाको विश्वास माओवादीप्रति भएको पुष्टि हुने बताएका हुन् ।
‘तपाईँहरू आज माओवादी केन्द्र प्रवेश गरेर एउटा सन्देश दिनुभएको छ’, उनले भने, ‘यहाँ धेरै युवा साथीहरू देखिनुभयो, जोडिनुभयो । तपाईँहरूले देशभरिका युवाहरूलाई जोडिनुपर्ने माओवादी केन्द्रमै हो भन्ने सन्देश दिनुभयो । माओवादी केन्द्रले मात्र सबै धर्म, जाति, वर्ग, लिङ्ग, उमेरसमूहलगायतलाई स्थान दिन्छ भन्ने सन्देश दिनुभयो ।’
अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्वका पालामा सुशासनको काम गर्न थालेपछि सरकारबाट अलोकतान्त्रिक तवरले हटाइएको बताए ।
‘मैले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा कायम हुने केही रेकर्डहरू बनेका थिए’, उनले भने, ‘त्यसबाट केही दालालहरू, नोकरशाहहरू, जाली फटाहाहरू या विचौलियाहरू आत्तिए । त्यसबाट संविधान पनि मिचेर अलोकतान्त्रिक तरिकाले अहिलेको सरकार बनेको छ ।’ यसले गर्दा जनतामा आक्रोश र असन्तुष्टि पैदा भएको उनको तर्क छ । त्यसकै फलस्वरूप शिक्षक, चिकित्सक, नर्स, इन्जिनियरलगायतको सडक आन्दोलन भइरहेको उनले बताए ।
विभिन्न पार्टीमा सक्रिय तथा स्वतन्त्र रूपमा रहेका ९२ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । केन्द्रका नेता रामकुमार राई ‘पासाङ’का अनुसार नेपाली कांग्रेस, एमाले, खेलाडीलगायतका युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
‘आज कांग्रेस, एमाले तथा विभिन्न पार्टी अनि स्वतन्त्र रूपमा रहेका राष्ट्रिय खेलाडीहरू गरी ९२ जना युवा माओवादी केन्द्रमा प्रवेश गर्नुभयो’, पासाङले भने ।