नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १८ औँ प्राज्ञसभा सम्पन्न

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १८ औँ प्राज्ञसभा मङ्गलवार सम्पन्न भएको छ । सभाको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली तथा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले संयुक्त रूपमा उद्घाटन गरेका छन ।
समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्राज्ञसभाले ललितकला क्षेत्रमा नयाँ आधार तय गर्ने विश्वास व्यक्त गरे । प्रतिष्ठानले आगामी दिनमा खोज, अनुसन्धान तथा प्रकाशनको कामलाई थप जोड दिने बताउँदै उहाँले कलालाई पर्यटन प्रवर्धनसँग जोडेर काम गर्न आवश्यक रहेको बताए । प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले प्रतिष्ठानले अहिले गरिरहेको कार्य सराहनीय रहेको बताउँदै प्राज्ञ सभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपालको ललितकला क्षेत्रलाई कस्तो बनाउने भन्ने कुरा ललितकलाकर्मीकोे मात्र हुटहुटीले नहुने बताउँदै सबैको सहयोग र सहकार्यमा मात्र त्यो सम्भव हुने बताए । उहाँले भन्नुभयो, ‘हामी ललितकला क्षेत्रको समृद्धि तथा उन्नयनका लागि योजना बनाउने पूर्वसन्ध्यामा छौँ । प्राज्ञिक व्यक्तिहरूबाट प्रज्ञा–प्रतिष्ठानलाई साँच्चैको प्राज्ञिक ढङ्गले चलाउनका लागि यो सभाको आयोजना गरिराखेका छौँ ।’
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले स्रष्टाको भूमिका समाजलाई सकारात्मक दिशातर्फ लाने, सकारात्मक ऊर्जा प्रदान गर्ने हुनुपर्ने बताए । उहाँले भन्नुभयो, ‘हामी त्यही अभियानमा छौँ । हामीले ललितकलाका माध्यमबाट त्यो भूमिका निर्वाह गर्दै अगाडि बढिरहेका छौँ । कला क्षेत्रलाई गति दिन यो सभाले पक्कै पनि केही भूमिका निर्वाह गर्ने छ । हामीले नेपालका सबै ललितकलाकर्मी, संस्कृतिकर्मीहरूको साथ र सहयोगमा गतिविधिहरू गरिरहेका छौँ ।’
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्राज्ञ सभा सफलताको शुभकामना व्यक्त गर्दै नेपालमा विभिन्न क्षेत्रबाट गरिने अनुसन्धानको काम प्रभावकारी हुनुपर्ने बताए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट धेरै सिक्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ललितकलाका क्षेत्रमा अहिले प्रदेशदेखि राष्ट्रियस्तरमा जुन लहर आएको छ । यो असाध्यै सकारात्मक पक्ष हो र सिक्न लायक छ ।’ महराले नीतिगत, अधिकारका कुराहरू सबैको एउटै भएकाले सहकार्यमा जोड दिए ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले सांस्कृतिक संस्थानका तर्फबाट सहकार्य, समन्वय र ऐक्यबद्धताका कुराहरूमा वर्तमान नेतृत्वले प्रतिष्ठानसँग सहकार्यका हातहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सबै नेपाल सरकारको संस्कृतिसम्बन्धी वकालत गर्दै आएका सङ्घसंस्था छौँ । सबैको एउटै चिन्तन के हो भने संस्कृतिलाई बुझ्ने चिन्तन र फराकिलो सोच हुनुपर्छ र यसलाई राज्यले प्रमुख अङ्गका रूपमा विकास गरिदिनुपर्छ भन्ने नै हो ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले प्रतिष्ठानले सीमित स्रोत र साधनकाबिच गरेका कामहरू प्रशंसनीय रहेको र यस्ता कार्यहरूमा सधैँ मन्त्रालयको साथ रहने बताउनुभयो । उहाँले नीतिगत कुरामा देखिएका समस्याहरूलाई सबैको सल्लाहबमोजिम संशोधन गर्न मन्त्रालयले काम गरिरहेको धारणा राखेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभा सदस्यहरू, कलाकार, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।
SHARE