काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नेतृत्व फुर्वा गेल्जे शेर्पा समूहले हात पारेको छ । शनिबार सम्पन्न निर्वाचनमा अध्यक्षदेखि सदस्यसम्मका अधिकांश पदमा शेर्पा समूहका उम्मेदवारले विजयी हासिल गरेका छन् ।
अध्यक्ष पदमा फुर्वा गेल्जे शेर्पा ३४२ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी कुल बहादुर गुरुङ २८८ मतमा सीमित भए । यो परिणामसँगै शेर्पा संघको आगामी कार्यकालका लागि शीर्ष नेतृत्वमा निर्वाचित भएका छन् ।
चुनावी परिणामसँगै यस पटकको निर्वाचन राजनीतिक तहमा पनि चर्चाको विषय बनेको छ । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस ,नेकपा एमाले निकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएर समर्थन गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी टिका गुरुङ २५८ मत पाए ।
प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा ३५९ मत ल्याउँदै निर्वाचित भए भने काजी शेर्पा २५६ मतमा सीमित भए ।
द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मत ल्याएर विजयी भए भने धनबहादुर गुरुङ २३८ मत मात्र पाए ।
महासचिव पदमा राजेन्द्रबहादुर लामा ३१८ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी विमल नहर्की २०९ मतमा र शिव सापकोटा ६८ मतमा सीमित भए ।
त्यस्तै, सचिवमा चन्दन थापा ३५८ मत ल्याउँदै विजयी भए भने ङिमा दिकी शेर्पा २४४ मत पाए ।
सबैभन्दा रोचक नतिजा भने कोषाध्यक्ष पदमा आयो । ङिमा नुर्बु शेर्पा र सुमी लामा दुवैले समान ३०४–३०४ मत प्राप्त गरेपछि गोलाप्रथाबाट आधा–आधा कार्यकाल सम्हाल्ने सहमति भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै,सदस्यमा पनि शेर्पा समूहकै वर्चस्व देखियो । विजयी हुने सदस्यमा माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डङ्गोल (२९५), दिकी शेर्पा (२८८) र निशा भोटे (३०७) रहेका छन् ।