फिल्म ‘माइतीघर’मा फर्कियो बहुचर्चित गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’

काठमाडौं । नेपाली चलचित्र इतिहासमा सदाबहार मानिने गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ पुनः चर्चामा आएको छ। फिल्म ‘माइतीघर’को शीर्ष गीतका रूपमा रहेको यस गीतलाई नयाँ प्रस्तुतिमा पुनर्जीवित गरिँदै युट्युबमार्फत सार्वजनिक गरिएको हो।

यो गीतलाई गायिका सञ्जिवनीले आफ्नो सुमधुर स्वरमा रि–क्रिएसन गरेकी छन्। गीतका शब्द प्रख्यात गीतकार किरण खरेलले रचना गरेका हुन् भने संगीतमा जयदेवको सिर्जना समेटिएको छ। मूल संस्करणमा सुप्रसिद्ध गायिका आशा भोस्लेले स्वर दिएकी थिइन्, जसले नेपाली चलचित्र संगीतलाई नयाँ उचाइमा पुर्याएको थियो।

गीतको भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको आकर्षक अभिनय प्रस्तुत गरिएको छ। छायांकनमा मानकृष्ण महर्जन र सुसन प्रजापति सक्रिय रहेका छन् भने सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्। नृत्य निर्देशनको जिम्मेवारी चर्चित कोरियोग्राफर कविराज गहतराजले सम्हालेका छन्। लोकेशन र छायांकन शैलीले दर्शकलाई अझै बढी लोभ्याउने अपेक्षा गरिएको छ।

फिल्मको निर्देशन मिलन तामाङले गरेका हुन्। यसमा निर्माता रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ। कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन्। फिल्मको पटकथा रामशरण पाठकले लेखेका हुन्।

फिल्ममा केदार घिमिरे (माग्नेबुढा), धीरज मगर, प्रकाश सपुत, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बम्जन र संगीता थापा लगायत कलाकारहरूको अभिनय समेटिएको छ।

रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘माइतीघर’ आगामी असोज १३ गते (दशैंको फूलपातीको दिन) बाट देशभर प्रदर्शनमा आउँदैछ।

SHARE