काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी पुस्ताले उठाएका एजेण्डा संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रै सम्बोधन हुनुपर्नेमा जोड दिएका छन्। अज्ञात स्थानबाट जारी गरिएको लामो विज्ञप्तिमार्फत उनले हालको आन्दोलनलाई ऐतिहासिक मोडको रूपमा लिए पनि प्रतिगमनकारी शक्तिहरूले त्यसमा घुसपैठ गरेर उपलब्धिहरू उल्ट्याउन खोजिरहेको चेतावनी दिएका छन्।
आन्दोलन र सरकारप्रतिको आलोचना
प्रचण्डले कांग्रेस–एमाले गठबन्धनलाई “असंवैधानिक र अप्राकृतिक” भन्दै त्यसकै कारण देश अस्थिर भएको टिप्पणी गरे। उनका अनुसार भ्रष्टाचारविरुद्ध जनआन्दोलन उठ्दा सरकारले आवाज सुन्नुको साटो “भयानक नरसंहार” गर्यो।
उनले सामाजिक सञ्जाल प्रतिबन्धलाई दमनको निरंकुश शैलीको उदाहरण ठहर गर्दै भने, “जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन जायज थियो, तर सरकारको पहिलो दिनकै दमनले ठूलो मानवीय क्षति भयो।”
तर उनले आन्दोलनको दोस्रो दिन भएको तोडफोड, लूटपाट र आगजनीलाई जेन–जी पुस्तासँग जोड्न नमिल्ने दाबी गर्दै त्यसबारे उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गरे।
संविधान र राजनीतिक निकास
प्रचण्डले वर्तमान संविधानका कमजोरी स्वीकार गर्दै पनि त्यसलाई तुलनात्मक रूपमा “उत्कृष्ट” भन्दै संविधानबाहिरको निकासले प्रतिगमनलाई मात्र फाइदा पुर्याउने चेतावनी दिए।
उनले स्पष्ट पारे, “लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र हो, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो। जेन–जी पुस्ताको माग संविधान र संसदीय प्रक्रियाभित्रबाटै पूरा हुन सक्छ।” उनका अनुसार संविधान कार्यान्वयनमा देखिएका चुनौतीलाई गहिरो समीक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीतर्फ संशोधन आवश्यक छ।
ऐतिहासिक संघर्षको स्मरण
विज्ञप्तिमा प्रचण्डले जनयुद्धदेखि १२ बुँदे सहमति, दोस्रो जनआन्दोलन र शान्ति प्रक्रियासम्मका संघर्षलाई स्मरण गर्दै त्यसैको जगमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको बताएका छन्।
उनले दलित, महिला, आदिवासी–जनजाति, मधेसी, थारु, कर्णाली र उपेक्षित समुदायलाई अधिकार दिलाउन संविधानले भूमिका खेलेको बताए।
जेन–जी आन्दोलनप्रति दृष्टिकोण
प्रचण्डले जेन–जी पुस्ताले उठाएका मागलाई गर्वको विषय भनेका छन्। भ्रष्टाचारविरुद्ध कडा आयोग गठन,सांसदलाई मन्त्री बन्न नदिने,प्रत्यक्ष कार्यकारी प्रणाली जस्ता माग आफ्नै पार्टीले विगतदेखि उठाउँदै आएको उनले स्मरण गराए।
तर आन्दोलनमा “अवाञ्छित तत्व” को घुसपैठ देखिएको भन्दै उनले सिंहदरबार, सर्वोच्च अदालत, पार्टी कार्यालय र निजी सम्पत्तिमा भएको आगजनीबारे गम्भीर प्रश्न उठाएका छन्।
उनले संक्रमणकालीन अवस्थालाई प्रतिगामीहरूले धमिलो पानीमा माछा मार्ने अवसरको रूपमा प्रयोग गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरे। “हामी यथास्थितिमा बस्न चाहन्नौं, तर परिवर्तनविरोधी प्रचारको भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु।”
उनले जेन–जी आन्दोलनलाई “यथास्थितिवाद तोड्ने ऐतिहासिक अवसर” को रूपमा व्याख्या गर्दै भने, “आन्दोलनका पीडादायी पक्ष भएपनि यसले राष्ट्रलाई अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको छ।”