सतिघाटको मौनता र बगेको इतिहास

म पात्र हुँ । इतिहासको किताब होइन,धुवाँ,आँशु र चिच्याहटले भरिएको त्यो दिनको साक्षी । म संखुवासभाको सतिघाट पुगेँ जहाँ पत्थर,काठ र मान्छेहरुको मौन सहमतिले एउटी नारीलाई आगोमा सुम्पिन्थ्यो ।

यहाँ सति जानु धर्म भनिन्थ्यो, इज्यत भनिन्थ्यो,कुलको मान भनिन्थ्यो । लोग्ने मरेपछि श्रीमती बाँचेको जीवनलाई अधुरो ठानिन्थ्यो । पण्डितका मन्त्र, बुढापाकाको हुकुम र समाजको आँखाले एउटी महिलालाई घेरि हाल्थ्यो र सति गए स्वर्ग खुल्छ,कुल पवित्र हुन्छ यही सुनाइन्थ्यो ।

म आज सङ्खुवासभाको सतिघाटमा उभिएको छु। अरुणको पानी पहिले जस्तै बगिरहेको छ, तर किनारामा उभिँदा इतिहासको चीत्कार सुनिन्छ। पानीले यहाँ धेरै कुरा बगाएर लगेछ-आँसु, पीडा, विवशता र नारीको अस्तित्व। सतिघाट कुनै सामान्य घाट होइन, यो त्यो ठाउँ हो जहाँ विधवाको जीवन आगोमा समर्पण गरिन्थ्यो, धर्म र परम्पराको नाममा।

किन सति जानु पथ्र्यो ? उत्तर पानीजस्तै गहिरो छ। तत्कालीन समाजमा महिलाको पहिचान पति सँग मात्र जोडिएको थियो। पति मरेपछि महिलाको जीवनलाई अपवित्र, बोझ र अशुभ ठानिन्थ्यो। धर्मशास्त्रको अपव्याख्या गरिँदै “पति पछ्याएर जानु नै स्वर्गको बाटो” भनिन्थ्यो। समाज, पुजारी र आफन्तको दबाबले विधवा नारीसँग विकल्प हुँदैनथ्यो। सतिघाटमा आगो बालिन्थ्यो, अनि त्यस आगोमा जल्थ्यो एउटा जीवन, एउटा सपना।

म सम्झिन्छु-सङ्खुवासभाको त्यो नदी किनार। पानी शान्त देखिन्छ, तर म जान्दछु, यो शान्तता भित्र कति आगो बगेको छ। म उभिएको ठाउँ सतिघाट हो भनेर कसैले भन्दैन आज, तर पानीले भने बिर्सेको छैन। यही पानीले सतीप्रथाको इतिहास देखेको छ, सुनेको छ र बगाएको छ। म आजको आँखाले हेर्छु, तर भित्र पुरानो समयको दृश्य आफैँ उठेर आउँछ।

सती प्रथा-आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने अमानवीय प्रथा। धर्म, परम्परा र “असल पत्नी” को नाममा नारीलाई आगो सुम्पिने चलन। सती शब्द देवी सतीबाट आएको भनिन्छ, जसले पिता दक्षको अपमान सहन नसकी आत्मदाह गरिन्। तर यहाँ, सङ्खुवासभाको सतिघाटमा, आत्मदाह स्वेच्छा होइन-विवशता थियो।

म कल्पन्छु-राजा, सामन्त वा सामान्य पुरुष मरेपछि, चिताको आगो बल्छ। वरिपरि भीड हुन्छ। कसैले मन्त्र पढ्छ, कसैले आँखा पुछ्छ। बीचमा उभिएकी नारी-पत्नी। उसको मनमा मृत्युको डर। तर त्यो डर भन्दा ठूलो जिउँदै जल्नुपर्ने पीडा। समाजको नजरले उसलाई पछाडि फर्कन दिंदैन।

यदि ऊ सती नजाने निर्णय गर्थी भने ? म पानीसँग सोध्छु। पानी भन्छ-त्यसपछि उसको जीवन झन् कठोर हुन्थ्यो। सेतो वस्त्र, मुडिएको टाउको, गहना निषेध, हाँसो निषेध। समाजले उसलाई अशुभ ठान्थ्यो। निरन्तर पीडाको जीवन थियो। त्यसैले धेरैले आगोलाई नै मुक्ति ठाने-यो नै इतिहासको सबैभन्दा ठूलो दुःख  हो।

सतिघाटमा आगो बल्थ्यो, तर पानी पनि बग्थ्यो। आगोले शरीर जलाउँथ्यो, पानीले आँसु बगाउँथ्यो।चिताबाट उठेको धुवाँ आकाशतिर, अनि नदीमा खस्ने खरानी। आगोको क्रोध, समाजको निर्दयता। तर त्यही खरानी बगाउँदा पानीमा मिसिएको क विकृत रूप पनि छ-पति,पत्नीको नाममा जबर्जस्ती गरिएको अन्तिम मिलन।

राजा महाराजाको मृत्युपछि कुन रानी सती जाने, कुन नजाने-यो पनि राजनीति थियो। सत्ता, उत्तराधिकारी र दरबारको दाउपेच सत्ताको घमण्डमा देखिन्थ्यो। नारीको साहस भने आगोमा होइन, सहनशीलतामा थियो-जुन इतिहासले कहिल्यै लेखेन।

आज म सतिघाटको अहिलेको अवस्था हेर्छु। कुनै शिलालेख छैन, कुनै संकेत छैन। झारपातले ढाकिएको किनार, सामान्य घाट जस्तै। यत्रो इतिहास कसरी हरायो ? पानी अझै बगिरहेको छ, तर स्मृति मेटिँदै गएको छ। म पाइला टेक्छु, लाग्छ-यहाँ कतै अझै चिताको ताप बाँकी छ।

पानीले सधैं बग्दै नयाँ बाटो खोज्छ। अब सती प्रथा छैन। नारीलाई आगोमा धकेल्ने कानुन छैन। तर चेतनामा बाँकी रहेको आगो निभाउन अझै धेरै बग्नुपर्छ पानी।

म अन्तिम पटक नदीतिर हेर्छु। पानी मलाई हेरेर भन्छ “मैले आगो पनि देखेँ, आँसु पनि। ” म लेख्छु सतिघाट फेरि नबनोस्

 

SHARE