निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई दिए बधाई

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरण (नेवि प्रा) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन्।

शाक्यले सामाजिक सञ्जाल फेसबुकमार्फत घिसिङलाई बधाई दिँदै ऊर्जा क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्। उनले घिसिङको नेतृत्वमा नेपालको ऊर्जा क्षेत्रमा नयाँ युगको सुरुवात भएको स्मरण गर्दै आगामी कार्यकालमा अझ ठूलो सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

“विद्युत् क्षेत्रमा उहाँले देखाएको इमानदार नेतृत्व, प्राविधिक ज्ञान र दूरदृष्टिले नेपाललाई उर्जामा आत्मनिर्भर र निर्यातमुखी बनाउने बाटो खोलेको छ,” शाक्यले लेखेका छन्। उनले मन्त्री घिसिङको नेतृत्वमा विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली अझ मजबुत हुने विश्वास व्यक्त गर्दै समृद्ध नेपाल निर्माणमा ऊर्जा क्षेत्र निर्णायक बन्ने धारणा राखेका छन्।

कुलमान घिसिङले यसअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दा ‘लोडसेडिङ अन्त्य गर्ने’ ऐतिहासिक काम गरेका थिए। त्यही कारण उनी ऊर्जा क्षेत्रमा ‘परिवर्तनकारी नेतृत्व’का रूपमा परिचित छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा घिसिङको आगमनले ऊर्जा क्षेत्रका सरोकारवालाहरूमा नयाँ आशा पलाएको छ। विभिन्न व्यवसायी, प्राविधिक र विज्ञहरूले उनको कार्यकालमा दीर्घकालीन ऊर्जा सुरक्षासँगै निर्यातमुखी रणनीति अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

 

SHARE