गायक, गीतकार तथा संगीतकार गणेश रसिकको निधन भएको छ।
केही दिनअघि ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना भएका ७७ वर्षीय उनको आइतबार बिहान ११ः३० बजे निधन भएको हो।
गायक तथा संगीतकार रसिक केही वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए। उनको शवलाई सोमबारमात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। उनकी छोरी लण्डनमा रहेकाले उनी फर्केपछि अन्त्येष्टि गरिने भएको हो।
भोजपुरमा जन्मिएका गणेश रसिक सानैदेखि लेखन र गायनमा सक्रिय थिए। गणेश रसिकका नखेल्नु जुवा र तास, रातो भाले क्वायँ क्वायँ, यो नेपाली ठिटो लगायतका थुप्रै गीतहरू लोकप्रिय छन्। साहित्यका विभिन्न विधामा कलम चलाएका रसिकका दर्जन हाराहारी पुस्तक तथा थुप्रै गीत संग्रह प्रकाशित छन्।
उनले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव जस्ता प्राज्ञिक संस्थानहरूको उच्च पदमा रहेर समेत जिम्मेवारी सम्हालेका थिए।